सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहलाई स्थानीयले बुधबार दिउँसोदेखि कार्यालयमा बन्दी बनाएका छन्।
वडा नम्बर ६ को पोखरी सम्बन्धित विवादमा सो वडाका बासिन्दाले नगरप्रमुख मलाहलाई दिउँसोदेखि बन्दी बनाएका हुन्। उनीहरूले नगरपालिका कार्यालयअगाडि टायर बालेर प्रदर्शन गरेका छन्।
नगरपालिका कार्यालयमा सशस्त्र प्रहरीका डिएसपी र नेपाल प्रहरीका प्रहरी निरीक्षकको कमान्डमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
टेलिफोन सम्पर्कमा आएका नगरप्रमुख मलाहले आफू कार्यालयभित्रै रहेको र असन्तुष्टसँग वार्ता गरिएको प्रतिक्रिया दिए। यो समाचार तयार पार्दासम्म स्थानीयले मेयरलाई निस्कन दिएका छैनन्।

