मुस्ताङमा १३५ नेता-कार्यकर्ता माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत

बुधबार, १ कार्तिक, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा पार्टीको जिल्ला भेलालाई सम्बोधन गरेका छन्। उनले विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन्। 

जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले माओवादी केन्द्र नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै भ्रष्टाचारविरोधी अभियानले नयाँ उत्साह जागेको बताए। 

भेलामा प्रधानमन्त्रीले भने, ‘हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरिरहेको छ। यो देशमा सुशासन कायम गर्न, जनताको जीवनमा परिवर्तन ल्याउन, अर्थतन्त्रलाई गति दिन हामीले मात्रै सक्छौँ। त्यो इच्छाशक्ति, दृढता र योजना हामीसँग मात्रै छ। सरकार र पार्टीलाई जोडेर परिवर्तनको पक्षमा नयाँ वातावरण सिर्जना गर्न पार्टीले विशेष अभियान सञ्चालन गरिरहेको छ। यसपछि पनि अभियानले निरन्तरता पाउनेछ। हामीले शक्तिशाली पार्टी निर्माण गर्नेछौँ।’

प्रधानमन्त्रीले मुस्ताङको विकास र जलवायु परिवर्तनले ल्याएका नयाँ संकट र जोखिमहरू न्यूनीकरण गर्न सरकार गम्भीर रूपमा लाग्नेसमेत बताए। 

भेलामा विभिन्न पार्टी परित्याग र विभिन्न सामाजिक व्यक्तित्व गरी एक सय ३५ जना नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। कार्यक्रममा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल, केन्द्रीय सदस्य हरिराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङलगायतको उपस्थिति रहेको थियो।

सुझावित समाचार