बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको औपचारिक उद्घाटन गरिएको छ । बेल्ट एन्ड रोडको १०औँ वार्षिकोत्सवको अवसरमा मंगलबारदेखि नै सुरु भएको शिखर सम्मेलन बुधबार चीनका राष्ट्रपति सी जिङपिङले उद्घाटन गरेका हुन् ।
‘उच्चगुणस्तरको बेल्ट एन्ड रोड कोअपरेसन : टुगेदर फर कमन डेभलपमेन्ट र प्रोस्परिटी’ भन्ने विषयवस्तुमा केन्द्रित रहेको फोरममा बिआरआई परियोजना लागू भएका एक सय ४० वटा देश र ३० वटा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि सहभागी छन् । उद्घाटन समारोहमा बोल्दै चीनका राष्ट्रपति सी जिङपिङले आगामी दिनमा बिआरआईखन्तर्गत पूर्वाधार विकास, यसमा लगानी भइरहेको कोष र ग्रिन डेभलभमेन्टमा आधारित आठबुँदे भिजन घोषणा गरेका छन् ।
शिखर सम्मेलनमा रुसका राष्ट्रपति भलादिमिर पुटिन, कजाकस्तान, अर्जेन्टिना, इथियोपियालगायतका राष्ट्रपतिहरूले समेत बिआरआई पूर्वाधार विकासबारे किनोट जारी गरेका थिए। बेल्ट एन्ड रोड फोरममा नेपालबाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी छन् । नेपालले बिआरआई सम्झौतामा ०७४ वैशाख २९ मा हस्ताक्षर गरे पनि हालसम्म सम्झौताअनुसार ठूला परियोजना सुरु हुन सकेका छैनन् ।
सन् २०१३ मा चीनले सुरु गरेको बिआरआई परियोजनाले हाल एसिया, ल्याटिन अमेरिका, अफ्रिकालगायतका देशमा पुल, बन्दरगाह, राजमार्ग, पावरप्लान्ट र दूरसञ्चार परियोजनाहरूको निर्माणका लागि सयौँ अर्ब डलर खर्च गरिसकेको छ । विश्वका एक सय ५० भन्दा बढी देश र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाले चीनसँग बेल्ट एन्ड रोड सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। जुन विश्वको जनसंख्याको ६५ प्रतिशत र विश्वव्यापी जिडिपीको ४० प्रतिशत प्रतिनिधित्व गर्दछ ।
चीनले यी देशहरूमा बन्दरगाह र रेलमार्गदेखि पुलसम्म तीन हजारभन्दा बढी परियोजनामा लगानी गरेको छ, जसले चर लाख २१ हजार रोजगारी सिर्जना गरेको छ । बिआरआई यातायात करिडोरले व्यापार, विदेशी लगानी र सहभागी देशका नागरिकहरूको जीवनस्तरमा उल्लेख्य सुधार ल्याएको विश्व बैंकको पछिल्लो प्रतिवेदनले देखाउँछ ।
विश्व बैंकले जारी गरेको बेल्ट एन्ड रोड इकोनोमिक्सको प्रतिवेदनअनुसार बिआरआई यातायात पूर्वाधारले यातायात करिडोरमा अर्थतन्त्रको यात्रा समय १२ प्रतिशतले घटाउन सक्ने र व्यापार लागत घटाउनमा मद्दत गरिरहेको उल्लेख गरेको हो ।
बिआरआईअन्तर्गत यातायात परियोजनाहरूले करिडोर अर्थतन्त्रका लागि २.८ देखि ९.७ प्रतिशत र विश्वका लागि १.७ र ६.२ प्रतिशतको बीचमा व्यापार बढाउने अनुमान गरिएको छ । कम आय भएका करिडोर अर्थतन्त्रका लागि एफडिआई प्रवाह ७.६ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । र, सन् २०३० सम्ममा परियोजनाले विश्वव्यापी वार्षिक राजस्वमा १.६ ट्रिलियन अमेरिकी डलर बढाउने अनुमान गरिएको छ ।