पोखरामा च्याङ्ग्राको भाउ ६० हजारसम्म

बुधबार, १ कार्तिक, २०८०
डिजिटल संस्करण

मासु पसलमा प्रतिकिलो तीन हजार रुपैयाँसम्ममा बिक्री, उपभोक्ता भन्छन्– कसरी खानु ?

दसैँ भित्रिएसँगै हिमाली क्षेत्रबाट बिक्रीका लागि पोखरामा भेडा–च्याङ्ग्रा ल्याउन थालिएको छ । तर, भाउ भने एक वर्षमै १५ हजारसम्मले वृद्धि भएको छ । एउटा च्याङ्ग्रा ६० हजारसम्म र भेडा ४० हजारसम्ममा बिक्री भइरहेका छन् । 

मूल्य बढेसँगै प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् । हाल पोखराका फ्रेस हाउसहरूले च्याङ्ग्राको मासु प्रतिकिलो तीन हजार रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । खसी–बोकाको मासुको मूल्य भने प्रतिकिलो १३ सय रुपैयाँ छ । ‘भाउ सुनेर नै तर्सिनुपर्ने अवस्था रै’छ । साथीभाइ मिलेर किन्न आएका थियौँ, भाउ छुनै नसकिने रहेछ,’ च्याङ्ग्रा खरिद गर्न आएका पोखरा– ३० का लेखनाथ लामिछानेले भने, ‘केही दिन हेरौँ, भाउ कस्तो हुन्छ ? सोचेभन्दा मूल्यमा धेरै फरक रहेकाले हेरेर मात्र फर्कियौँ । दुई–तीन दिनपछि फेरि आउँदा मूल्य घटे च्याङ्ग्रा नै लैजान्छौँ, नत्र यस वर्ष खसीको मासु खानुपर्ला ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने काठमाडौंमा च्याङ्ग्राको मूल्य प्रतिकिलो (जिउँदो) एक हजार दुई सय ५० रुपैयाँ तोकेको छ । तर, उसले बिक्री गर्न रसुवाबाट तीन सय ५८ च्याङ्ग्रा मात्र ल्याएको छ । बजारमा भने निकै महँगो हुने गरेको छ ।

कोभिड महामारीअघिसम्म दसैँताका पोखरामा ४० हजारको हाराहारीमा भेडा–च्याङ्ग्रा आउने गरेकोमा अहिले मुस्किलले १७ हजारजति आउने गरेको व्यापारी रमेश श्रेष्ठले बताए । कोभिडयता तिब्बती च्याङ्ग्रा आउन छाडेपछि भाउ बढेको हो । ‘मुस्ताङमै भाउ छोइनसक्नु छ, अघिल्लो वर्षको तुलनामा एउटैको १५ हजारसम्म बढी मूल्य परिरहेको छ,’ उनले भने । नाका बन्द हुँदा पछिल्ला चार वर्षदेखि चिनियाँ च्याङ्ग्रा आउन छाडेपछि मुस्ताङलगायत क्षेत्रका कृषक र व्यापारीले भाउ बढाएका हुन् ।

१० वर्षदेखि मुस्ताङबाट भेडा–च्याङ्ग्रा ल्याएर पोखरामा बिक्री गर्दै आएका रामु थापा क्षत्रीले पनि गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा खरिदमा १० देखि १५ हजारसम्म मूल्य बढी तिर्नुपरेको बताए । गत वर्ष मुस्ताङमा ३८ हजारमा पाइने च्याङ्ग्रा यसपटक ५० हजारसम्म परेको उनको भनाइ छ । ‘भेडा–च्याङ्ग्रा पोखरा ल्याउँदा प्रतिगोटाको करिब दुई हजार पाँच सय खर्च लाग्छ,’ उनले भने । व्यवसायीले नाफा राखेर बिक्री गर्दा एउटैको ६० हजारसम्म पर्ने गरेको छ । 

पोखरामा सात हजार भेडा–च्याङ्ग्रा आइपुगे
पोखरामा १५ हुल गरी करिब सात हजार भेडा–च्याङ्ग्रा ल्याइसकिएको छ । मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, बझाङ र बाजुराबाट ल्याइएका च्याङ्ग्रा पोखरा–बाग्लुङ राजमार्ग किनारको सडकमा बिक्री गर्न राखिएका छन् । फूलपातीको दिन बढी बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन् । यस वर्ष पोखरामा करिब १५ हजार भेडा–च्याङ्ग्रा आउने अनुमान व्यापारीहरूको छ । पुरानो टुँडिखेलमा बिक्रीका लागि राखिन्छ, जहाँ ठूलो मेलासमेत लाग्छ । 

पोखरा ल्याइएका भेडा–च्याङ्ग्रा बिक्रीका लागि काठमाडौं, धादिङ, तनहुँ, स्याङ्जा, चितवन, बुटबल, धरान, पाल्पालगायत क्षेत्रमा पनि पुर्‍याउने गरिन्छ । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै उपभोक्ताले दसैँ–तिहारमा भेडा–च्याङ्ग्रा रोज्ने गर्छन् । 
 

सुझावित समाचार