सहुलियत पसलमै छैन चिनी

मंगलबार, ३० असोज, २०८०
डिजिटल संस्करण

पोखरा नयाँबजारनिवासी प्रेमबहादुर क्षेत्री दसैँका लागि चिनी खरिद गर्न सोमबार दिउँसो पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको सहुलियत पसलको बिक्री केन्द्र पुगे। तर, त्यहाँ चिनी नै बिक्रीमा नभएपछि रित्तो हात घर फर्कनुपर्यो । 

‘उपभोक्तालाई लक्षित गरी काठमाडौंमा सहुलियत पसलबाट चिनी बिक्री भइरहेको समाचार हेरेर पोखराको साल्ट ट्रेडिङले पनि बिक्री गरेको होला भन्दै आएको हुँ। तर, यहाँ चामल, नुन, तेल र साबुन मात्र बिक्री भइरहेको रहेछ। मलाई चिनी चाहिएको हो,’ क्षत्रीले भने, ‘बजारमा चिनी खरिद गर्दा व्यापारीले प्रतिकेजी रु. एक सय ३० सम्म लिने गरेका छन्।’

बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि सर्वसाधारणको दैनिकी कष्टकर हुँदै आएको उनको भनाइ छ । सहुलियत दरमा खाद्यवस्तुको बिक्री गर्ने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड पोखरा र साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनी लिमिटेड पोखराको बिक्री केन्द्रले यस वर्ष चिनी नभएका कारण बिक्री गरेको छैन। ‘सरकारले काठमाडौंबाहिरका जिल्लामा पनि चिनी बिक्री केन्द्र राखेको भए आमउपभोक्ताले सहुलियत दरमा चिनी किन्न पाउने थिए, किन त्यसो नगरेको होला ?’ क्षत्रीले प्रश्न गरे।

साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनी लिमिटेड पोखराका प्रमुख वासुदेव उपाध्यायले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत दरको चिनी बिक्री गर्ने निर्णय ढिला गर्दा दसैँमा चिनी आयात हुन नसकेको र दसैँपछि लगत्तै सहुलियत दरको चिनी बिक्री केन्द्रमा आइपुग्ने बताए।

‘दसैँमा उपभोक्तालाई सहुलियत दरमा चामल, तोरीको खाने तेल, नुहाउने साबुन र नुन सहुलियत दरका दिएका छौँ,’ उनले भने, ‘सधैँझैँ यस वर्ष पनि साल्ट ट्रेडिङको कार्यालय पृथ्वीचोकबाट उपभोग्य सामान बिक्री भइरहेका छन्।’
 
प्रमुख उपाध्यायका अनुसार साल्ट ट्रेडिङले २५ केजी तौल भएको जिरा मसिनो चामलको बोरालाई बजार भाउभन्दा रु. पाँच सय सस्तोमा रु. दुई हजार एक सयमा बिक्री गरेको छ । त्यस्तै, २५ केजीको सोना चामल प्रतिबोरामा रु. दुई सय ५० छुट गरी रु. एक हजार सात सय ५० मा बिक्री गरिएको छ । त्यस्तै, नुनमा रु. दुई सहुलियत दिइएको छ भने सन्तुर साबुनमा रु. १० र बजारभाउ रु. चार सय २५ रहेको शान्ति तोरीको तेल प्रतिलिटर रु. तीन सय ७० मा बिक्री  गरिएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय पोखराका सूचना अधिकारी रञ्जना केसीले यस वर्ष चिनी नभएका कारण पोखराबाट स्टिम जिरा चामल बिक्री गरिएको जानकारी दिइन्।

उनका अनुसार २५ केजी तौल भएको चालमको बोरा रु. एक हजार नौ सय ७५ मा बिक्री भइरहेको छ । दसैँदेखि छठपर्वसम्मका लागि पाँच सय क्विन्टल चामल बिक्रीका लागि राखिएकोमा पोखराको पार्दीस्थित बिक्री केन्द्र र पृथ्वीचोकको बिक्री केन्द्रबाट दैनिक २० क्विन्टल चामल बिक्री भइरहेको केसीको भनाइ छ।

‘प्रतिपरिवार दुई बोरा चामल दिएका छौँ,’ केसीले भने, ‘सहुलियत पसल यही असोज १५ गतेदेखि सुरु भई मंसिर ३ गतेसम्म रहनेछ।’ विशेष गरी दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी सरकारले सञ्चालनमा ल्याएको सहुलियत पसलमा चामल खरिद गर्न दसैँसँगै सर्वसाधारण उपभोक्ताको चाप बढेको उनको भनाइ छ।

सरकारले बोलपत्रमार्फत खरिद गर्न लागेको चिनी केही हप्तामा नै बिक्री केन्द्रमा आइपुग्ने र चिनीको समेत बिक्री गर्ने उनले बताइन्। देशभर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४९, साल्ट ट्रेडिङ कर्पोरेसनले ३५ र दुग्ध विकास संस्थानले ११ आउटलेटबाट सहुलियत मूल्यमा सामान बिक्री गरिरहेका छन्।

सञ्चालनमा ल्याइएका सहुलियत मूल्य पसल प्रभावकारी भए–नभएको विषयमा अनुगमन गर्न सरकारले अनुगमन समिति पनि बनाएको छ। सहुलियत पसलबाट धेरैभन्दा धेरै लाभ लिन केसीले उपभोक्तालाई आग्रह गरेकी छिन्।

सुझावित समाचार