दसैँ–तिहारलाई लक्षित गरेर दुग्ध विकास संस्थानले गर्‍यो मूल्यमा कटौती

न्यूनतम एकदेखि अधिकतम एक सय ५० रुपैयाँसम्म छुट

मंगलबार, ३० असोज, २०८०
डिजिटल संस्करण

दसैँ–तिहारलाई लक्षित गरेर दुग्ध विकास संस्थानले आफूले बिक्री गर्दै आएको दुग्ध पदार्थको मूल्यमा कटौती गरेको छ । संस्थानले दुग्ध पदार्थका विभिन्न परिकारमा दुई रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्म छुट दिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको हो ।  सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले स्वस्थ र स्वच्छ माछा, मासु, दूधलगायत खाद्य पदार्थहरूको बिक्री–वितरण सुनिश्चित गर्न तथा सहुलियत दरमा उपलब्ध गराउने बताएको छ । 

 खाद्य तथा दाना बजार अनुगमन तीव्र
खाद्य तथा दाना पदार्थलक्षित बजार अनुगमनलाई तीव्र पारिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट यस आवको प्रथम त्रैमासमा खाद्य ऐन तथा दाना पदार्थ ऐन कार्यान्वयनका लागि अनुगमन निरीक्षण गर्ने क्रममा खाद्य तथा दाना बजार चार सय ४५ पटक, खाद्य उद्योग एक सय २९ पटक, होटेल–रेस्टुरेन्ट एक सय ९५ पटक गरी सात सय ६९ पटक खाद्य अनुमगन निरीक्षण गरेको छ । जसमा म्याद गु्रजेका तथा प्रतिकूल गरी करिब दुई लाखबराबरको सामग्री जफत गरी नष्ट गरी कारबाही गरिएको मन्त्रालयले जनाएको छ । साथै, खाद्य ऐनविपरीत प्रतिकूल उत्पादन गर्ने दुईवटा उद्योग सिलबन्दी गरी कारबाही गरिएको साथै खाद्य ऐन तथा दाना पदार्थ ऐनप्रतिकूल नमुनाउपर १९ वटा मुद्दा दायर गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

 पशुपक्षी अनुगमनलाई तीव्र बनाइने
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पछिल्लो समय दसैँ–तिहारमा हुन सक्ने पशु बजार अनुगमन, स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको जनाएको छ । अनुगमन गर्नका लागि काठमाडौं उपत्ययकाका कलंकी खसी बजार र आसपासका क्षेत्र, धापाखेल र चापागाउँ खसी बजार, टुकुचा खसी बजार र खाद्य संस्थान, थापाथली, टोखा, सुकेधारा, कपन, लोकन्थली खसी बजार, सल्लाघारी च्यांग्रा बजार, चोभार, चाल्नाखेल राँगा बजार, चन्द्रागिरि–थानकोट–दहचोक–दाउरा डिपो), बालाजु, बाइपास खसी बजार, कलंकी–कालीमाटी–बल्खु माछा बजार, मूलपानी चौरलगायतका स्थानमा ५८ जना जनशक्ति परिचालन गरिएको छ ।

मन्त्रालयका अनुसार आइतबार खसी तीन हजार तीन सय २२, बोका तीन सय ८४, बाख्रा १४, राँगा–भैसी ४९, च्यांग्रा चार सय ६६ गरी चार हजार दुई सय ८४ र माछा पाँच सय किलो बजार अनुगमन तथा स्वास्थ्य परीक्षण गरिएको मन्त्रालयको दाबी छ । 

पशु स्वास्थ्य परीक्षण एवं नमुना संकलनका लागि स्वास्थ्य परीक्षणको समय बिहान ७ बजे देखि १० तथा दिउँसो २ देखि ५ बजेसम्म गर्दै आइरहेको छ । स्वस्थ पशुलाई हरियो रङले चिनो लगाउने, बिरामी–रोगी पशुलाई रातो चिनो लगाउने र तुरुन्तै समूहबाट आइसोलेट गर्न लाउने काम भइरहेको मन्त्रालयको भनाइ छ । 

सुझावित समाचार