समाजवादी क्रान्तिका लागि विदेशी थिचोमिचो गम्भीर चुनौती : महासचिव गुरुङ

सोमबार, २९ असोज, २०८०
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले समाजवादी क्रान्तिका लागि विदेशीको थिचोमिचो गम्भीर चुनौतीको रूपमा रहेको बताएका छन्।

जनप्रगतिशील मञ्चले बेलायतको अल्डरसर्टमा आयोजित कार्यक्रममा उनले विदेशी हस्तक्षेप नरोकी समाजवादी क्रान्ति सम्भव नरहेको बताएका हुन्। समाजवाद स्थापनाका लागि आवश्यक पहिलो गौँडो जनयुद्धको बलमा सामन्तवादी निरंकुश सत्ता फ्याँकेर जनताको सत्ता ल्याएपछि पूरा भएको जिकिर गर्दै गुरुङले दोस्रो गौँडोको रूपमा विदेशीको थिचोमिचो यथावत रहेको प्रस्ट पारे।

‘नेपालको राष्ट्रिय राजनीतिमा समाजवादी क्रान्तिको विकल्प छैन। अथवा समाजवादी सत्ता स्थापना गर्नुको विकल्प छैन। त्यसका लागि हामीले दुईवटा गौँडा पार गर्नुपर्छ। पहिलो– सामन्तवादको नेतृत्व गरिरहेको राजतन्त्र फ्याँकेर एउटा गौँडा पार गरिएको छ। दोस्रो गौँडा भनेको बाँकी छ। त्यो भनेको विदेशीको थिचोमिचो हो,’ महासचिव गुरुङले भने, ‘समाजवादी क्रान्तिका लागि विदेशीको थिचोमिचो गम्भीर चुनौती हो। यो समस्या नपन्छाईकन समाजवादी क्रान्ति सम्भव छैन।’

समाजवाद स्थापनाका लागि पार्टीले तीनमहिने जनतासँग विशेष रूपान्तरण अभियान थालेको उनको भनाइ थियो। सम्पूर्ण कम्युनिस्ट शक्ति, देशभक्त तथा गणतन्त्रवादीलाई एकीकृत गरेर मात्रै समाजवादतर्फ जान सकिने पनि गुरुङको विश्वास छ।

सुझावित समाचार