रोशीमा चार सय दुई धारा बनाइने

सोमबार, २९ असोज, २०८०
डिजिटल संस्करण

रोशी गाउँपालिकामा एक घर एक धारा अभियानअन्तर्गत चार सय दुई धारा बनाउने सम्झौता भएको छ । गाउँका तीन सय ९८ घरधुरी, तीन विद्यालय र एक स्वास्थ्य संस्थामा धारा निर्माणका लागि ६ वटा खानेपानी आयोजनाबारे सम्झौता भएको हो ।रोशी गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)बीच खानेपानी तथा सरसफाइ आयोजनासम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । सम्झौतामा गाउँपालिका अध्यक्ष दिनेश लामा र नेवाका बागमती प्रदेश प्रमुख मैत्रेयी शर्माले सम्झौतामा हस्ताक्षर गरेका हुन् । वडा नम्बर १२ मा दुईवटा, वडा नम्बर १० मा दुईवटा र वडा नम्बर १ मा दुईवटा गरी ६ वटा खानेपानी आयोजना सम्झौता भएका छन् । 

सो आयोजनाबाट दुई हजार नौ सय ६२ जना लाभान्वित हुनेछन् । तीनवटा वडामा चार सय दुईवटा धारा निर्माण हुनेछन् । ६ वटा आयोजना सम्पन्न गर्न तीन करोड १० लाख २९ हजार आठ सय ६१ रुपैयाँ लाग्ने अनुमान गरिएको छ । रोशी गाउँपालिका वडा नम्बर १ मा नकाउबेँसी ताङलिङ खानेपानी आयोजनाले ८३ घरधुरी र एक विद्यालय गरी ८४ वटा धारा, सोही वडाको चुलिनटार खहरे खानेपानी आयोजनाले एक सय ४६ घरधुरी र एक स्वास्थ्य चौकी गरी एक सय ४७ वटा धारा, वडा नम्बर १० स्थित गौरीगाउँ खानेपानी आयोजनामा २८ घरधुरीका लागि २८ वटा धारा, सोही वडाको डाँडाखर्क माथिल्लो पोखरी ४० घरधुरीका लागि ४० वटा धारा, वडा नम्बर १२ स्थित माथिल्लो केराबारी खानेपानी आयोजनाले ४९ घरधुरीका लागि ४९ वटा धारा र सोही वडाबीच केराबारी खानेपानी आयोजनाले ५२ घरधुरी र एक विद्यालयमा गरी ५३ वटा धारा निर्माण हुने भएका छन् ।

गाउँपालिका अध्यक्ष लामाले निर्वाचनमा बोलेका कुरा पूरा गर्ने क्रममा एक घर एक धारा अभियानअन्तर्गत धारा निर्माणका लागि सम्झौता भएको बताए । जनताको समस्यालाई आफ्नै समस्याका रूपमा लिएर काम गरिरहेको लामाको दाबी छ । जनताको नजिकको सरकार स्थानीय सरकार भएकाले जनताको गुनासो नआउने गरी काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । सम्झौता कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मीमबहादुर वाइबा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, गाउँपालिका प्रवक्ता वसन्तकुमार लामालगायत नेवाका प्रतिनिधि रहेका थिए ।

See More On

सुझावित समाचार