भारतीय राजनीतिमा क्रिकेट फ्याक्टर

सोमबार, २९ असोज, २०८०
डिजिटल संस्करण

अहिले दुई अर्ब मानिस विश्वकपको ज्वरोले ग्रस्त छन् भनेर ब्रिटिस कमनवेल्थबाहिरका कुनै पनि व्यक्तिलाई भनियो भने उसले तपाईंलाई अचम्म मानेर हेर्ने सम्भावना छ । विश्वका अधिकांश मुलुकका लागि फुटबल नै विश्वकप हो जुन गत वर्ष कतारमा भएको थियो र सन २०२६ मा उत्तर अमेरिकामा नहुँदासम्म फेरि हुनेछैन । तर, हामी बाँकीका लागि विशेष गरी, भारतीय उपमहाद्वीपका करिब दुई अर्ब मानिसका लागि अहिले भारतमा भइरहेको पुरुष क्रिकेट विश्वकप वास्तवमै महत्वपूर्ण छ ।

यो प्रतियोगिता इंग्ल्यान्डमा सम्पन्न सन् २०१९ को विश्वकपका दुई फाइनलिस्टबीच एक खेलका साथ ५ अक्टोबरबाट सुरु भएको छ । उक्त फाइनलमा हारेको न्युजिल्यान्डले अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा इंग्ल्यान्डलाई पराजित गरेर बदला लियो । भारतीय प्रधानमन्त्रीको नामधारी यो रंगशाला रहेको अहमदाबादलाई भारतको नयाँ क्रिकेट राजधानीका रूपमा हेरिन थालेको छ । १९ नोभेम्बरमा हुने फाइनल खेलमा मोदी स्वयं पनि सहभागी हुने अपेक्षा गरिएको छ ।

मोदीले अर्काे वर्ष हुने आमचुनावमा तेस्रो कार्यकालका लागि उम्मेदवारी दिने तयारी गरिरहँदा भारतको सबैभन्दा लोकप्रिय प्रतियोगिताको फाइनलमा आफूलाई र आफ्नो भारतीय जनता पार्टी (भाजपा)लाई केन्द्रबिन्दुमा राख्ने उनको योजना सुनियोजित राजनीतिक कदम हो । विश्वकपको फाइनलमा भारतको जितले चन्द्रमाको दक्षिणी ध्रुवमा गत अगस्टमा लुनार रोभरको अवतरण र सेप्टेम्बरको जी–२० शिखर सम्मेलनलगायत हालैका अन्तर्राष्ट्रिय सफलताको शृंखलालाई अगाडि बढाउनेछ । (भारत जित्ने देश हो, तर यस प्रतियोगितामा प्रतिस्पर्धा सधैँ कडा हुन्छ ।)

भारतीय राजनीतिज्ञहरूले क्रिकेटसँग आफूलाई जोड्दा भोट बढ्छ भन्ने कुरा बुझ्न थालेको दशकौँ भयो । फलस्वरूप, भारतीय राजनीति र क्रिकेट कर्मचारीतन्त्रबीच घनिष्ठ सम्बन्ध रहेको छ । भारतीय क्रिकेटको सर्वाेच्च निकाय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)का शक्तिशाली सचिव जय शाह देशका दोस्रो शक्तिशाली राजनीतिज्ञ एवं मोदीका शक्तिशाली गृहमन्त्री अमित शाहका छोरा हुन् । मोदीका दिवंगत वित्तमन्त्री अरुण जेट्ली दिल्लीका शीर्ष क्रिकेट प्रशासक थिए । जेट्लीको निधनपछि संघीय राजधानीस्थित मुख्य क्रिकेट रंगशालाको नाम नै परिवर्तन गरियो र जेट्लीको नामबाट उक्त रंगशालाको नाम राखियो । एक समय आफ्नो गृहराज्य गुजरातमा क्रिकेट संघको नेतृत्व मोदी स्वयंले गर्ने गर्थे ।

भोटबाहेक क्रिकेटमा अथाह पैसा  र विश्वव्यापी प्रभाव पनि छ । भारतले क्रिकेट खेलको विश्वव्यापी आयको लगभग ९० प्रतिशत हिस्सा ओगटेको छ । यस मामलामा भारतले क्रिकेट खेलका पुराना र स्थापित देशहरूलाई निकै पछाडि पारेको छ । सन् २०२१–२२ मा वार्षिक ७७ करोड १० लाख अमेरिकी डलर आम्दानी गरेको बिसिसिआई विश्वकै सबैभन्दा धनी क्रिकेट संस्था हो ।

भारतमा क्रिकेट एउटा खेल मात्रै होइन । यो एउटा राजनीतिक उपकरण, एउटा आकर्षक उद्योग, प्रतिष्ठाको एउटा स्रोत हो र विश्वव्यापी प्रभाव पार्ने भारतको शक्तिशाली उत्तोलकमध्ये एक पनि हो । अर्काे वर्ष पुनः चुनाव लड्ने तयारी गरिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई प्रयोग नगर्ने कुरै भएन । 
 

भारत विश्व क्रिकेटमा ट्वान्टी–२० (टी–२०) क्रान्तिको नेतृत्वकर्ता मुलुक पनि हो, जसले खेलको समयलाई संक्षिप्त (तीन घन्टा) बनाएर अझ ठूलो संख्यामा दर्शकहरू आकर्षित गर्यो । टी–२० अहिले क्रिकेटको सबैभन्दा नाफादायी स्वरूप भएको छ । अत्यन्त लोकप्रिय इन्डियन प्रिमियर लिग (आइपिएल)ले करोडौँ डलरको सम्झौताका साथ विश्वका उत्कृष्ट खेलाडीहरूलाई आकर्षित गरिरहेको छ । जुन भारतको विशाल टेलिभिजन दर्शकहरू र आकर्षक प्रायोजनबाट सम्भव भएको हो । बिसिसिआईले आइपिएलको पाँच वर्षको प्रसारण अधिकार बिक्रीको सम्झौता ६ अर्ब २० करोड डलरमा गरेको छ । 

विश्वकप सुरु हुँदै गर्दा भारतीय सेयर बजारमा उछाल आउन थालेको छ । प्रतियोगिता सुरु हुनुभन्दा तीन महिनाअघि प्रतियोगितासँग सम्बन्धित कम्पनीका सेयरको ब्लुमबर्ग इन्डेक्स २० प्रतिशतले बढिसकेको थियो । प्रतियोगिताका दिनहरूका लागि भारतले खेल्ने सहरहरूमा हवाई भाडा दोब्बर भएको छ भने अहमदाबादको भाडा ४१५ प्रतिशतले बढेको छ । यो विश्वकपले भारतीय अर्थतन्त्रलाई दुई अर्ब ६० करोड डलरले उकास्न सक्छ ।

क्रिकेटमा भारतको आर्थिक प्रभुत्वले यस खेलमाथि विश्वव्यापी रूपमा भारतको असमान प्रभाव पारेको छ । जेट्लीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)मा भारतको प्रभाव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा संयुक्त राज्य अमेरिकाको प्रभावजस्तै छ भनेर एकपटक मलाई भनेका थिए ।

बिसिसिआईले भारतको हितअनुसार विश्व क्रिकेटको समय तालिका बनाउन सफल भएको छ, विशेषगरी आइपिएलको लागि सबै खेलाडीहरू उपलब्ध हुने सक्ने गरी समय तालिका बनाउन सकेको छ । भविष्यको योजना, खेलका नयाँ नियम र आम्दानीको विश्वव्यापी वितरणसम्बन्धी अन्तर्राष्ट्रिय छलफलहरूमा भारतको निकै ठूलो प्रभाव हुन्छ । आइसिसीले हालै गरेको तीन अर्ब डलरको मिडिया राइट्स सम्झौताको ३८.५ प्रतिशत भारतले पाउनेछ ।

यसैगरी, भारतले यस वर्षको एसिया कपमा भाग लिन आफ्ना खेलाडी पाकिस्तान पठाउन अस्वीकार गरेपछि पाकिस्तानी क्रिकेट बोर्डसँग अधिकांश खेल श्रीलंकामा सार्नुपर्ने भारतको मागलाई स्वीकार गर्नुको विकल्प रहेन । पाकिस्तान प्रतियोगिताको आयोजक राष्ट्र त रह्यो, तर नाम मात्रको । 

यो खेलका दुई महाशक्ति मुलुक भारत र पाकिस्तानबीचको क्रिकेट सम्बन्ध सन् २००८ मा मुम्बईमा पाकिस्तानका आतंककारीहरूले आक्रमण गरेपछि रोकिएको छ । सन् २०१२–१३ मा भारतमा एउटा द्विपक्षीय शृंखला भए पनि भारतले आफ्ना खेलाडी पाकिस्तान पठाउन अस्वीकार गर्दै आएको छ ।

यसबाहेक, सन् २००८ देखि पाकिस्तानी खेलाडीले पनि आइपिएल खेलेका छैनन् र भारतसँगको सम्बन्धमा सुधार नआएसम्म उनीहरूलाई आइपिएलमा आमन्त्रण गर्ने सम्भावना न्यून छ । पाकिस्तानले भारतसँग खेल्दा प्राप्त हुने ठूलो राजस्वलाई गुमाउन चाहँदैन त्यसैले यी दुई देशको भेट अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र हुने गरेको छ ।

यसर्थ, भारत र पाकिस्तानबीचको योपटकको विश्वकपको खेल यस वर्षको सबैभन्दा चर्चित खेल हो । यो खेल नरेन्द्र मोदी स्टेडियममा हुनु कुनै आश्चर्यको होइन । अहमदाबादमा होटेलको कोठाको दर प्रतियोगिताआसपासका दिनहरूका लागि तीन सय प्रतिशत सम्मले बढ्यो । मानिसहरूले म्याचको दिनहरूमा सुत्न होटेल खोज्नुभन्दा अस्पतालका आकस्मिक चेकअपको बहनामा रातभर अस्पतालमा बस्नु सस्तो पाए । उडानहरू पूरै प्याक थिए ।

त्यस खेलमा भारतको जितलाई मोदी अर्काे जित र भारतको अदम्य उदयको अर्काे संकेतको रूपमा हेरिएको छ । भारतले हारेको भए त्यसले भाजपाका हिन्दू–राष्ट्रवादी समर्थकलाई भड्काउने थियो । १५ सदस्यीय टोलीमा रहेका दुईजना भारतीय मुस्लिम खेलाडीले राष्ट्रिय हितका लागि पर्याप्त निष्ठा नदेखाएको आरोप लाग्न सक्थ्यो ।यसमा कसले राम्रो खेल्यो भन्नेभन्दा पनि अरू धेरै कुरा छन् । किनकि भारतमा क्रिकेट एउटा खेल मात्रै होइन । यो एउटा राजनीतिक उपकरण, एउटा आकर्षक उद्योग, प्रतिष्ठाको एउटा स्रोत हो र विश्वव्यापी प्रभाव पार्ने भारतको शक्तिशाली उत्तोलकमध्ये एक पनि हो । 
– प्रोजेक्ट सिन्डिकेटबाट (संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव तथा भारतका पूर्वविदेश एवं मानव संसाधन विकास राज्यमन्त्री थरुर भारतीय राष्ट्रिय कंग्रेसका संघीय सांसद हुन् ।) 

सुझावित समाचार