अफ्रिकीहरूले लोकतन्त्रमाथिको विश्वास किन गुमाइरहेका छन् ?

आइतबार, २८ असोज, २०८०
डिजिटल संस्करण

अफ्रिकी मुलुकका नौजना नेता २० वर्षभन्दा बढी समयदेखि सत्तामा छन् 

अफ्रिकामा केही गडबडी भएको छ । राज्यमाथि नियन्त्रणका लागि दुई प्रभावशाली युद्ध सरदारहरू भिड्दा सुडान लुटमारमा फसेको छ । डार्फरमा फेरि नरसंहार सुरु भएको छ । एउटा युद्ध सरदारप्रति बफादार लडाकाले अर्काे जातीय समूहका फेला परेजति पुरुषको हत्या गरिरहेका छन् । यहाँसम्म कि आमाहरूले पिठ्युँमा बोकेका बालकहरूलाई समेत गोली हानेका छन् । इथियोपियामा एउटा गृहयुद्ध अन्त्य नहुँदै अर्काे नयाँ गृहयुद्ध सुरु भइहाल्छ । साहेलभर जिहादीहरूको आतंक छ । सैनिकहरूले चाहिँ शान्ति कायम गर्ने वाचा गर्दै सत्ताकब्जा गरिरहेका छन् । अहिले तपाईं एट्लान्टिकदेखि लालसागरसम्मको अफ्रिकाको सबैभन्दा फराकिलो भागको यात्रा विगत तीन वर्षमा कु भोगेका देशमाथि टेकेर पूरा गर्न सक्नुहुन्छ । 

यो क्षेत्रमा कु आम हुँदै जानुको एउटा कारण के हो भने अधिकांश अफ्रिकीले लोकतन्त्रमाथिको विश्वास गुमाइसकेका छन् । सर्वेक्षणकर्ता अफ्रोब्यारोमिटरका अनुसार सन् ०१२ मा लोकतन्त्रलाई प्राथमिकता दिनेको संख्या ७५ प्रतिशत रहेकोमा त्यो ६६ प्रतिशतमा झरेको छ । हुन त यो आँकडा पनि ठोस बहुमत लाग्न सक्छ, तर ५३ प्रतिशतले गैरसैन्य नेताहरूले आफ्नो शक्तिको दुरुपयोग गरेमा कु वैध हुने बताउँछन् (अक्सर नागरिक नेताहरूले शक्तिको दुरुपयोग गर्ने गरेका छन्) । विश्वकै सबैभन्दा उदार संविधान रहेको दक्षिण अफ्रिकामा ७२ प्रतिशत उत्तरदाताले गैरनिर्वाचित नेताले मुलुकमा अपराध घटाउन र आवास एवं रोजगारी बढाउन सकेमा चुनाव त्याग्न तयार हुने बताएका छन् ।

कु गर्ने सैन्य नेताहरूको छातीमा जति धेरै पदक छन्, लोकतन्त्रप्रतिको बढ्दो मोहभंगका कारण पनि उत्तिकै धेरै छन् । आफूलाई लोकतान्त्रिक दाबी गर्ने वर्तमान सरकारले न त समृद्धि ल्याएका छन्, न त सुरक्षा नै । सब–सहारा अफ्रिकाको गत वर्षको प्रतिव्यक्ति आय १० वर्षपहिलेको भन्दा पनि कम थियो । सन् १९८९ यता पहिलोपटक सानातिना द्वन्द्वमा समेत पहिलेभन्दा धेरै मानिसको मृत्यु भइरहेको छ । नाइजेरियामा पूरै विद्यालय अपहरणमा परेका छन् । जब मानिसहरू आफ्नो जीवनमा सुधार हुने आशा गुमाउँछन्, उनीहरू परिवर्तनका लागि अधीर हुन्छन्, तब कु र गृहयुद्धको खतरा तीव्र रूपमा बढ्छ ।

अर्काे समस्या के भने, अफ्रिकाका तथाकथित लोकतन्त्रहरू नाम मात्रका छन् । शीतयुद्धको अन्त्यपछि अधिकांश अफ्रिकी मुलुकले बहुदलीय प्रजातन्त्र अँगालेका थिए । केन्या र जाम्बियाजस्ता केही देशमा अझै पनि मतदाताको इसारामा शान्तिपूर्ण रूपमा सत्ता परिवर्तन हुँदै छ । तर, अन्य थुप्रै ठाउँमा शासकले विपक्षीलाई चुनावमा भागसम्म लिन त अनुमति दिन्छन्, तर तिनले नजित्ने सुनिश्चित गर्न मतदाता नामावलीमा छेडछाड गर्नेदेखि मिडियाको घाँटी थिच्नेसम्मका हजारौँ सावधानी अपनाउँछन् । अफ्रिकी मुलुकका नौजना नेता २० वर्षभन्दा बढी समयदेखि सत्तामा छन् । लोकतन्त्रको लाखेनाच देखेका जनताले लोकतन्त्रलाई समर्थन गर्ने अपेक्षा गर्न सकिन्न ।

यसबीच, निरंकुशतासँग भूराजनीति मित्रतापूर्ण भएको छ । यदि पश्चिमले अफ्रिकी जुन्ताहरूलाई हतियार वा ऋण बन्द गरिदिए भने चीन र रुस त्यो ठाउँ लिन तम्तयार छन् । टर्की र संयुक्त अरब इमिरेट्सजस्ता हस्तक्षेपकारी शक्ति पनि छन् । यही कारण चाडको कु र कंगोमा भएको निर्वाचनको धाँधलीप्रति पश्चिमा सरकारले आँखा चिम्लने काम गरेका छन् । उनीहरूको यो पाखण्डले लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर पार्छ ।

विश्वमा अफ्रिका मात्र होइन, जहाँ लोकतन्त्रप्रति वितृष्ण फैलिरहेको छ । गत वर्ष पियू सर्वेक्षणमा ६२ प्रतिशत अमेरिकी र ५६ प्रतिशत फ्रान्सेलीले आफ्नो देशको लोकतन्त्रप्रति सन्तुष्ट नभएको बताएका थिए । युवा अमेरिकीमध्ये लगभग २० प्रतिशतले तानाशाही नै उत्तम हुन्छ भन्ने ठान्छन् । तर, अफ्रिका र पश्चिमबीचको ठूलो भिन्नता के हो भने पश्चिमका परिपक्व संस्थाहरूले कुलाई लगभग असम्भव बनाउँछ । अफ्रिकाको अधिकांश भागमा सेना र तिनका सहयोगी लोकतन्त्रलाई नियन्त्रण गर्न तयार छन् ।

एकपटक बन्दुक बोकेका मानिसले सत्ता लिइसकेपछि उनीहरूलाई हटाउन गाह्रो हुन्छ । उनीहरूले निर्वाचनलाई अनिश्चितकालसम्म स्थगित गर्छन् । कार्यकारी शक्तिमाथिको बचेखुचेको लगामसमेत हटाउँछन् । उनीहरूको शासन असाध्यै क्रूर हुन्छ । अझ कुलाई स्वागत गर्नेहरूको भिड छ भने उनीहरू थप प्रोत्साहित गर्नेछ । गिनीका राष्ट्रपतिले सन् १९७९ मा सत्ताकब्जा गरेका थिए । उनी अहिले पनि पदमा छन् र सम्भवतः उनको विलासिताप्रेमी छोरा उनको उत्तराधिकारी हुन सक्छ । निरंकुशतामा सच्चा लोकतन्त्रमा अन्तर्निहित हुने सुधार संयन्त्रको अभाव हुन्छ । लोकतन्त्रमा सरकारहरू राम्रो भएनन् भने मतदाताले उनीहरूलाई बर्खास्त गर्न सक्छन् । अधिकांश अफ्रिकी देशले जातीय तनाव र क्षेत्रीय विवादलाई बढावा दिएका छन् । कु र तानाशाहीले सुडानमा जस्तै अक्सर युद्ध निम्त्याउँछ ।

अफ्रिकालाई लोकतन्त्रको मार्गमा ल्याउनु सजिलो हुनेछैन । तर, यो अफ्रिकीहरूको पहिलो र सबैभन्दा महत्वपूर्ण काम हो । क्षेत्रीय निकाय अफ्रिकन युनियनले फेरि एकपटक आफ्नो पुरानो ‘नो–कु’को नीतिलाई गम्भीरतापूर्वक लिनुपर्छ र कुबाट सत्ता हत्याएकाहरूलाई बहिष्कृत गर्नुपर्छ । अझ महत्वपूर्ण त के भने आफूलाई प्रजातान्त्रिक दाबी गर्ने अफ्रिकी सरकारले भ्रष्टाचार नियन्त्रण गरेर, विकासलाई बढावा दिएर र विपक्षीलाई नियन्त्रण गर्ने आफ्नो चाहनालाई दबाएर सुशासन कायम गर्नुपर्नेछ । विश्व बंैकका अनुसार अफ्रिकी कन्टिनेन्टल फ्री टे«ेड एरिया लागू गर्दा व्यापारका अवरोध हटेर सन् ०३५ सम्ममा आम्दानीलाई नौ प्रतिशतले बढाउन सकिनेछ । तर, यसका सदस्य एकले अर्काको खुट्टा तानिरहेका छन् । यसमा धनी देशहरूले सहयोग गर्न सक्छन् । उनीहरूले अफ्रिकाको अस्थिर ऋणको पुनर्संरचना गर्दै अगाडि बढ्नुपर्छ ।

जलवायु परिवर्तनसँग जुधिरहेका गरिब देशलाई सहयोग गर्न वार्षिक एक खर्ब डलर खर्च गर्ने लामो समयदेखिको र अधुरो वाचा पूरा गर्नुपर्छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले लगानीमा मद्दत गर्न सक्छन् । पश्चिमले धेरैभन्दा धेरै अफ्रिकी आप्रवासीलाई अध्ययन र कामका लागि स्वागत गर्नु राम्रो हुनेछ । उनीहरूमध्ये कोही उपयोगी सीप लिएर घर फर्कनेछन् भने केहीले आफन्तलाई शिक्षित गर्न वा नयाँ व्यवसाय सुरु गर्न पैसा पठाउनेछन् । बेलायत र फ्रान्सजस्ता पूर्वऔपनिवेशिक शक्तिभन्दा बढी लोकप्रिय रहेको अमेरिकाले अफ्रिकी सुरक्षामा सुधार गर्न जिहादी र अन्य विद्रोहीसँग लडिरहेका वैध शक्तिहरूलाई प्रशिक्षण र हतियार दिन सक्छ । युरोपियन युनियनले अफ्रिकी नेतृत्वको शान्ति मिसन (जस्तै सोमालियाको शान्ति मिसन)को आर्थिक सहयोगलाई कायम राख्नुपर्छ, कटौती गर्नुहुँदैन ।

मानवताको काखदेखि विश्वराजनीतिको केन्द्रसम्म : अफ्रिकाको प्रगतिको कामना गर्नुको मुख्य कारण अफ्रिकीहरूलाई फाइदा पु¥याउनु हो । तर, यो समृद्धिको हिस्सा बाँकी संसारले पनि पाउँछ । अहिले, अफ्रिका एक मात्र यस्तो महादेश हो, जहाँ तीव्र गतिमा जनसंख्या वृद्धि भइरहेको छ । सन् ०३० सम्ममा काम गर्ने उमेर पुगेका तीनमध्ये एकजना अफ्रिकाका हुनेछन् । यदि अफ्रिका कमजोर रह्यो भने जलवायु परिवर्तनदेखि महामारीसम्म मानवताका ठूला चुनौतीको सामना गर्न कठिन हुनेछ । लोकतान्त्रिक अफ्रिका समृद्ध र शान्तिपूर्ण हुनेछ भन्ने कुराको ग्यारेन्टी गर्न त सकिँदैन, तर निरंकुश र सेनापतिहरूले शासन गरेको अफ्रिका समृद्ध र शान्तिपूर्ण हुनेछैन भन्ने कुराको भने ग्यारेन्टी गर्न सकिन्छ ।  

 

सुझावित समाचार