उच्चतम मूल्यमै नेपालबाट भारतमा बिजुली निर्यात

शनिबार, २७ असोज, २०८०
डिजिटल संस्करण

दैनिक २० करोडसम्म आम्दानी, यो आवमा १५ अर्बको निर्यात गर्ने लक्ष्य 

भारतीय बजारमा विद्युत्को मूल्य बढेसँगै नेपाली बिजुली पनि त्यहाँको उच्चतम मूल्यमा बिक्री हुन थालेको छ । विभिन्न कारणले अहिले भारतमा विद्युत्को अभाव देखिएपछि मूल्य बढेको हो । 

नेपाली बिजुली विगत चार दिनयता त्यहाँको उच्चतम मूल्य अर्थात् प्रतियुनिट नेपाली १६ रुपैयाँमा निर्यात भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले कात्तिक ०७८ देखि भारतको इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स)को डे–अहेड मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत् खरिद–बिक्री गर्दै आएको छ । यही असोजदेखि आइइएक्सको रियल टाइम मार्केटमा पनि प्रतिस्पर्धी दरमै विद्युत् बिक्री गर्न सुरु गरिएको छ । भारतीय सरकारले त्यहाँ विद्युत् खरिद–बिक्री गर्न प्रतियुनिट अधिकतम १० भारु (नेपाली १६ रुपैयाँ)सम्मको सीमा तोकेको छ । गत मंगलबारदेखि प्राधिकरणले दुवै बजारमा सोही मूल्यमै बिजुली बिक्री गरिरहेको हो ।  

यसअघि भारतीय बजारमा विद्युत् खरिद–बिक्रीका लागि प्रतियुनिट २० भारुसम्मको सीमा थियो । दुई वर्षअघि त्यो सीमालाई घटाएर प्रतियुनिट १२ भारुमा झारिएको थियो । गत वर्ष त्यो सीमा थप घटाएर प्रतियुनिट १० भारु कायम गरिएको छ । अहिले सोही दरमै विद्युत् निर्यात भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार पछिल्लो समय आइइएक्समै औसत मूल्य १० भारुमै विद्युत् खरिद–बिक्री भइरहेको छ । 

प्राधिकरणले गत साउनमा प्रतियुनिट आठ रुपैयाँ १३ पैसा र भदौमा प्रतियुनिट १२ रुपैयाँ २७ पैसाको औसत दरमा बिजुली निर्यात गरेको थियो । तर, अहिले औसत १६ रुपैयाँमै विद्युत् निर्यात भइरहेको छ, यसले विद्युत् निर्यातमार्फत हुने आम्दानी बढाउनसमेत सहयोग पुगेको घिसिङको भनाइ छ । 

नेपाली बजारको भन्दा बढी मूल्य 
अहिले नेपाली बजारमा विद्युत् बिक्रीको औसत मूल्य १० रुपैयाँ प्रतियुनिट छ । त्यसअनुसार प्राधिकरणले नेपालमा बिक्री गरेर पाउने मूल्यभन्दा भारतबाट ६ रुपैयाँ (प्रतियुनिट) बढी मूल्य पाएको देखिन्छ । त्यसमाथि पनि विद्युत् प्राधिकरणले निजी उत्पादकसँग बर्खाको विद्युत् खरिद दर कम तोकेको हुन्छ । प्राधिकरणले यसवेला आयोजनाहरूबाट प्रतियुनिट चार रुपैयाँ ८० पैसामा बिजुली किनेको हुन्छ । त्यसअनुसार १६ रुपैयाँ प्रतियुनिटका दरले विद्युत् निर्यात गर्दा प्राधिकरणलाई उच्च लाभ हुने देखिन्छ । 

यद्यपि, निर्यात गरेरभन्दा आन्तरिक खपत बढाउँदा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने तर्क पनि गरिन्छ । तर, अहिले प्राधिकरणले स्वदेशमा खपत हुन नसकेको बिजुली निर्यात गर्दै आएको छ । त्यो अवस्थामा विद्युत् निर्यातलाई सकारात्मक रूपमा लिइएको छ । यसले नेपालको शोधनान्तर स्थिति (भुक्तानी सन्तुलन)मा समेत राम्रो सहयोग पुग्ने प्राधिकरणको दाबी छ । 

दैनिक २० करोड रुपैयाँ आम्दानी
बढी मूल्य पाएपछि बिजुली निर्यातबाट हुने आम्दानी पनि बढेको छ । अहिले बिजुली निर्यातबाट दैनिक २० करोड रुपैयाँसम्म आम्दानी भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । ‘अहिले मूल्य बढी पाएपछि बिजुली निर्यातबाट हुने आम्दानी पनि बढेको छ । दैनिक २० करोड रुपैयाँसम्म आम्दानी भइरहेको छ,’ उनले भने, ‘यसले प्राधिकरणको आम्दानीमा ठूलो सहयोग पुग्छ ।’ अहिले प्राधिकरणले डे–हेड र रियल टाइममा गरेर भारतमा ६ सय ३२ मेगावाटसम्म बिजुली निर्यात गरिरहेको छ ।

दुई महिनामा साढे पाँच अर्बको विद्युत् निर्यात
प्राधिकरणले चालू आव ०८०/८१ मा भारततर्फ हुने विद्युत् निर्यात २३.१५ प्रतिशतले बढाएको छ । नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त चालू आवको भदौँ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । गत आर्थिक वर्ष ०७९/८० को दुई महिनामा भारतमा चार अर्ब ४१ करोड १५ लाख रुपैयाँबराबरको विद्युत् निर्यात भएको थियो । चालू आवको साउन र भदौ महिनामा पाँच अर्ब ४२ करोड ३१ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । साउनमा एक अर्ब ९४ करोड ८४ लाख र भदौमा तीन अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको छ । प्राधिकरणले यो वर्ष भारतमा १३ देखि १५ अर्ब हाराहारीमा विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ ।

विद्युत् निर्यातले नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको कार्यकारी निर्देशक घिसिङ बताउँछन् । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । नेपालमा अधिकांश जलविद्युत् आयोजना नदी प्रवाह (आरओआर)मा आधारित छन् । त्यो अवस्थामा बर्खामा खोलामा पानी बढी हँुदा उत्पादन पनि पूर्ण क्षमतामा हुन्छ । यही समयमा भारतमा विद्युत् निर्यातसमेत गर्न सकिन्छ ।

नेपालमा विद्युत्को जडित क्षमता २९ सय मेगावाट हाराहारी छ । तर, स्वदेशी माग भने दुई हजार मेगावाट हाराहारी मात्रै छ । त्यो अवस्थामा प्राधिकरणले बर्खामा विद्युत् निर्यात गर्न सक्छ । तर, हिउँदमा खोलामा पानी कम हुँदा उत्पादन स्वदेशी मागभन्दा पनि कम हुन्छ । त्यसवेला स्वदेशी माग धान्न भारतबाटै विद्युत् आयात गर्नुपर्छ । अझै दुई महिना विद्युत् निर्यात गर्न सकिने कार्यकारी निर्देशक घिसिङ बताउँछन् । त्यसपछि भने भारतबाटै विद्युत् आयात गरिने उनको भनाइ छ । 

नेपाली बिजुलीका लागि भारतीय बजार निकै ठूलो मानिन्छ । नेपालमा जति विद्युत् उत्पादन हुँदै छन्, सोबराबरको विद्युत् यहीँ खपत हुने बजार छैन । अहिले पनि नेपालको विद्युत् खेर गइरहेको अवस्था छ । त्यसैले नेपाली बिजुलीका लागि भारतीय बजार अपरिहार्य छ । साथै, बढ्दो जलवायु परिवर्तनका लागि भारतलाई पनि नेपालको स्वच्छ बिजुलीको आवश्यकता बढ्दो छ । किनकि, भारतमा डिजेल र पावर प्लान्ट चलाउँदा वातावरण नराम्ररी प्रभावित भएको छ । त्यसले गर्दा भारतलाई स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने दबाब छ । नेपाल र भारतबीच ऊर्जामा सहकार्य गर्ने गरी २०१४ मा समझदारी भएको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा गत जेठ १८ गते द्विपक्षीय दीर्घकालीन विद्युत् व्यापार समझदारी पनि भएको थियो । त्यसअन्तर्गत भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् किन्ने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा पनि गरेका थिए । त्यससम्बन्धी अन्तिम सम्झौतापत्रको मस्यौदा भारतीय मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि दुवै देशका ऊर्जासचिवले त्यसमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।

किन अभाव भयो भारतमा बिजुली ? 
भारतले यसअघि पनि पटक–पटक ऊर्जा संकटको सामना गर्दै आएको छ । यसपालि पनि विभिन्न कारणले भारतमा विद्युत्को अभाव देखिएको छ । भारतमा विद्युत्को मुख्य स्रोत कोइला र डिजेल पावर प्लान्ट हो । अहिले भारतमा आयातीत कोइला महँगो हुँदै गएको छ, त्यसले भारतको विद्युत् उत्पादन प्रभावित भएको छ । यसैगरी, केही दिनअघि सिक्किमको टिस्टा बाँध फुटेर आएको बाढीले १२ सय मेगावाट क्षमताको टिस्टा–३ जलविद्युत् आयोजना बगाएको छ । त्यसपछि भारतको विद्युत् आपूर्तिमा समस्या देखिएको छ । प्राधिकरणका व्यापार विभागका प्रमुख प्रबल अधिकारीका अनुसार अहिले भारतमा मागअनुसार विद्युत्को आपूर्ति हुन सकेको छैन । त्यसले गर्दा पनि भारतीय बजारमा विद्युत्को मूल्य बढ्दै गएको छ । 

See More On

सुझावित समाचार