अञ्जनले गरे हरि र नीराजनको सर्वाधिक गोल रेकर्ड बराबरी

सन् २००३ मा नीराजन रायमाझी र हरि खड्काले राखेको सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोलको रेकर्ड अञ्जन विष्टले गरे बराबर

शुक्रबार, २६ असोज, २०८०
डिजिटल संस्करण

११ हजार समर्थकमाझ दशरथ रंगशालामा ४९औँ मिनेटमा गोल गर्दै स्ट्राइकर अञ्जन विष्टले पूर्वकप्तान हरि खड्का र नीराजन रायमाझीको नाममा रहेको १३ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गरेका छन् । सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एसियन छनोटमा बिहीबार अञ्जनले लाओसविरुद्ध गोल गर्दै हरि र नीराजनका नाममा संयुक्त रूपमा रहेको कीर्तिमानी १३ अन्तर्राष्ट्रिय गोल बराबरी गरेका हुन् । उनकै गोलको सहयोगमा नेपालले घरेलु मैदानमा लाओससँग १–१ को बराबरी खेल्यो । नेपाली टोलीले मंगलबार लाओसको घरेलु मैदानमा खेल्नेछ ।

 एरिक विष्टको कर्नरमा अञ्जनले डिबक्सभित्र हेड गोल गरेका थिए । उनले लाओसका ६ रक्षकबीच चलाखीपूर्ण हेडिङ गोल गरेका हुन् । गोलसँगै अञ्जनले दुई दशकदेखिको नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गरे । २५ वर्षीय अञ्जनले यात्रा लामो भएको बताए । ‘यो नै मेरो अन्त्य हैन, अझै लामो यात्रा गर्नुछ,’ रेकर्ड बराबरी गरेपछि अञ्जनले भने । सन् २०१४ मा उनले प्रशिक्षक ज्याक स्टेफानोस्कीको प्रशिक्षणमा फिलिपिन्सविरुद्ध डेब्यु गरेका थिए । उनले सन्दीप राईको स्थानमा ६१औँ मिनेटमा मैदानभित्र प्रवेश गरेका थिए । सन् २०१९ मा अञ्जनले चाइनिज ताइपेईविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरे ।

उनले बंगलादेशविरुद्ध ह्याट्रिकसँगै चार गोल र चाइनिज ताइपेईविरुद्ध तीन गोल गरेका छन् । इराक, भारत, श्रीलंका, पाकिस्तान, कुवेत र लाओससँगको खेलमा उनले समान एक गोल गरेका छन् । अञ्जन आफूले रेकर्डभन्दा पनि नेपालको जितका लागि खेलेको बताएका छन् । ‘मैले रेकर्डका लागि कहिल्यै पनि खेलिनँ र खेल्दिनँ पनि । अझै धेरै खेल्न बाँकी छ,’ उनले भने, ‘पहिलो खेल जित्नुपर्ने थियो, खेल जित्दै जानुपर्छ, एक दिन रेकर्ड बनिहाल्छ ।’ 

जुमानु राई, भरत खवास र अनिल गुरुङ सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोलको नजिक पुगेका थिए । उनीहरूले त्यो रेकर्ड बराबरी गर्न सकेनन् । अञ्जनकै समकक्षी विमल घर्तीमगर अस्ट्रेलिया पलायन भएका छन् । लाओसविरुद्ध बराबरी भए पनि अञ्जनले आफू खुसी नभएको बताए । ‘१३ गोलको कीर्तिमान बराबर हुँदा पनि म खुसी छैन । हाम्रो लक्ष्य जित थियो,’ उनले भने । 

लाओसविरुद्ध निराशाजनक प्रदर्शन
नेपालले पाहुना टोली लाओसविरुद्ध निराशाजनक प्रदर्शन गर्‍यो । नेपालले पहिलो हाफमा राम्रो अवसर बनाउन सकेन । लाओसले निकै

आकर्षक खेल प्रस्तुत गर्दै नेपालमाथि दबाब बनाएको थियो । नेपाली खेलाडीमा आत्मविश्वासको कमी देखिन्थ्यो । घरेलु खेलाडी आक्रमणभन्दा पनि ब्याक पास खेल्नमै केन्द्रित भए । मध्यान्तरपछि प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले तीन खेलाडी परिवर्तन गरे । त्यसपछि नेपालको खेलमा सुधार आयो । 

आशिष चौधरीको स्थानमा एरिक विष्ट, आयुष घलानको स्थानमा दिनेश हेन्जन र आवास लामिछानेको स्थानमा उत्सव राई मध्यान्तरपछि मैदानमा छिरेका थिए । दोस्रो हाफको चौथो मिनेटमै नेपालले १–१ को बराबरी गोल फर्कायो । खेलको ३३औँ मिनेटमा लाओसका बौनफाचन बौनकोङले नेपाली रक्षकलाई जिल्याउँदै १–० का लागि गोल गरे । उनको प्रहार दोेस्रो बारमा लाग्दै गोल भएको थियो । नेपालका प्रशिक्षक एनेसले प्रतिस्पर्धामा खुसी हुने स्थान नभएको प्रतिक्रिया दिए । 
‘पहिलो हाफको सुरुमा राम्रो भयो । पछि हामी ब्याक पासमा केन्द्रित भयौँ । दोस्रो हाफमा राम्रो भयो,’ उनले भने, ‘तर, नतिजा स्तब्धपूर्ण नै रह्यो, अब अवे खेलमा जित्न प्रयास हुनेछ ।’ अञ्जनले बराबरीपछि समर्थकसँग माफी मागे ।

‘समर्थकसँग माफी माग्छु । हामी जित्न आएका थियौँ, तर सफल भएनौँ,’ उनले भने, ‘हामीले आफ्नै कमजोरीमा गोल खायौँ । दसैँको मुखमै खेल जितेर घरेलु समर्थकमाझ खुसी मनाउन चाहन्थ्यौँ ।’ उनले दोस्रो खेलमा गोर्खाली पाराले खेल्ने र दोस्रो चरणका लागि छनोट हुने बताए ।

See More On

सुझावित समाचार