अस्ट्रेलिया लगातार दोस्रो खेलमा पराजित

शुक्रबार, २६ असोज, २०८०
डिजिटल संस्करण

एकदिवसीय विश्वकप क्रिकेटको सर्वाधिक विजेता अस्ट्रेलिया लगातार दोस्रो खेलमा पराजित भएको छ । भारतमा आयोजना भइरहेको आइसिसी विश्वकपमा अस्ट्रेलिया बिहीबार दक्षिण अफ्रिकासँग एक सय ३४ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

चालू विश्वकपमा श्रीलंका, नेदरल्यान्ड्स, अस्ट्रेलिया र अफगानिस्तानले खेलेका दुवै खेल गुमाएका छन् । विश्वकप इतिहासमा अस्ट्रेलियाले पहिलोपटक ब्याक टु ब्याक हारको सामना गरेको हो । अस्ट्रेलियामाथिको सानदार जितसँगै दक्षिण अफ्रिका चार अंकका साथ शीर्ष स्थानमा पुगेको छ । न्युजिल्यान्ड, भारत र पाकिस्तानले समान दुई खेलबाट चार अंक जोडेका छन् । 

लखनउमा पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा सात विकेटको क्षतिमा तीन सय ११ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा अस्ट्रेलियाले ४०.५ ओभरमा सबै विकेटको नोक्सानीमा एक सय ७७ रन मात्र बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले सर्वाधिक एक सय ९ रनको योगदान दिए ।

उनले एक सय ६ बलमा आठ चौका र पाँच छक्का प्रहार गरेका थिए । यसैगरी, आदेन माक्रामले ४४ बलमा सात चौका र एक छक्काको सहयोगमा ५६ रन जोडे । ओपनर टेम्बा भाभुमाले ३५ रन र भान डेरले २६ रन जोडे । पुछारका मार्को जान्सेनले २२ बलमा तीन चौका र एक छक्का प्रहार गरी २६ रन बनाए । अस्ट्रेलियाका लागि मिचेल स्टाकले ५३ रनमा दुई विकेट लिए । ग्लेन म्याक्सवेलले ३४ रन खर्चेर दुई विकेट हात पारे । 

प्रत्युत्तरमा अस्ट्रेलियाले गतिलो ब्याटिङ गर्न सकेन । मार्को, केसभ महाराज र सम्सीले समान दुई विकेट हात पारे । किर्गिसो रावडाले ३३ रनमा तीन विकेट लिँदा अस्ट्रेलियाको ब्याटिङ कमजोर बन्यो । अस्ट्रेलियाको ब्याटिङमा मार्नोसले ७४ बलमा सर्वाधिक ४६ रन जोडेका थिए । मिचेल स्टाकले २७ र कप्तान प्याट क्युमिन्सले २२ रनको योगदान दिए । 

सुझावित समाचार