कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले किसानलाई ‘चैते धान अभियान’ चलाउनुपर्ने बताएका छन्।
‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने नारासहित कृषि विभागले बिहीबार ४३औँ विश्व खाद्य दिवसमा आयोजना गरेको कार्यक्रममा भारतले धान निर्यात बन्द गरेको उल्लेख गर्दै एक लाख हेक्टर जमिनमा चैते धान अभियान चलाउनुपर्ने बताए।
‘भारतले निर्यात गर्ने धानको अभाव पूर्ति गर्न एक लाख हेक्टर क्षेत्रफलमा चैते धान लगाऊँ। ६ लाख मेट्रिक टन धान उत्पादन गरौँ,’ मन्त्री भुसालले भने, ‘सिँचाइ, आवश्यक कृषि औजार र मलको समस्या समाधान गरियो भने खाद्यमा समस्या हुँदैन। रासायनिक मलको कटौती गरेर प्रांगारिक तथा जैविक मलमा वृद्धि गर्नुपर्छ।’ बगेको पानीको सही व्यवस्थापन गरेर कृषिमा प्रयोग गर्न सके सिँचाइको समस्या नहुने उनले दाबी गरे।
‘उन्नत बिउको प्रयोग गर्ने र सिँचाइको व्यवस्था गरेमा सन् २०३५ सम्ममा हामी खाद्यमा आत्मनिर्भर हुन सक्छौँ,’ मन्त्री भुसालले भने, ‘पूर्व–पश्चिम नहर निर्माण गरेर मात्र कृषि क्रान्ति हुन्छ।’