अन्तिम कारोबार दिन नेप्सेमा २० अंकको गिरावट

बिहिबार, २५ असोज, २०८०
डिजिटल संस्करण

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २०.१६ अंकले घटेर एक हजार आठ सय ७४.६० विन्दुमा झरेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८१ प्रतिशतले घटेको छ।

बिहीबार कारोबारमा आएकामध्ये २१० कम्पनीको सेयर मूल्य घटेको छ भने २३ कम्पनीको मात्रै मूल्य वृद्धि भएको छ। ७५ लाख ५८ हजार पाँच सय ४२ कित्ता सेयर एक अर्ब ७० करोड रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। कारोबार रकम भने आज सामान्य अंकले बढेको छ। बुधबार एक अर्ब आठ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

यस दिन म्युचुअल फन्डमा ०.१६ प्रतिशतको वृद्धि भए पनि नेप्सेका बाँकी १२ वटै समूहको सूचकमा गिरावट आएको छ। होटेल तथा पर्यटन समूहमा सर्वाधिक गिरावट आएको छ। सो समूहको मूल्य ३ प्रतिशतले घट्दा निर्जीवन बिमा १.५२ प्रतिशत, हाइड्रोपावर १.५९ प्रतिशत, जीवन बिमा १.४० प्रतिशत र वित्त १.४१ प्रतिशतले घटेको छ।

नेप्से घटे पनि बिहीबार भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मिडसोलु हाइड्रोपावर, हाथवे इ्न्भेष्टमेन्ट, एनआइबिएल ग्रोथ फन्ड, सानिमा  ग्रोथ फन्ड र सयपत्री हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यता सिटी  होटेलको मूल्य ९.०९ प्रतिशत, बाराही हाइड्रोपावर ८.१९ प्रतिशत र बलेफी हाइड्रोपावर ८.०५ प्रतिशतले घटेको छ।

सुझावित समाचार