मञ्चनको अन्तिम तयारीमा ‘झोडा’

बिहिबार, २५ असोज, २०८०
डिजिटल संस्करण

२००० सालदेखि नै पहाडबाट तराई झरेर झोडा फाँडेर बस्न थालियो। त्यसवेला तराईका फाँटमा वनजंगल थिए। त्यही वनजंगल फाँडेर मानवबस्ती बस्यो। २०२१ सालको भूमिसुधार लागू भएपछि झनै तराई झर्नेको संख्या बढ्यो। यसरी झोडा फाँडेर बस्नेको पीडा पनि अनेक थिए। 

वन फँडानी गरेको आरोपमा राज्यसत्ताले दुःख दिइरहन्थ्यो। खासगरी भूतपूर्व सैनिकलाई सरकारले झोडामा जग्गा दिने भनेर तराई ल्यायो। तर, उनीहरू राजनीतिक भूमरीको परिबन्धमा फसे। झोडा फाँड्ने आदिवासी जनजाति नै कसरी सुकुमबासी बन्न पुगे भन्ने कथा चुलाचुली रंगमञ्चले नाटकमार्फत अन्तिम तयारी गरेको छ।  

शुक्रबारबाट दमकस्थित किराँत भवनमा नाटक ‘झोडा’ मञ्चनको अन्तिम तयारीमा छ। ३२ असोजसम्म मञ्चन हुने नाटक उपन्यास ‘आकाशगंगाको ओतमुनि’मा आधारित कथालाई सुमन लिङ्देनले नाट्य रूपान्तरण र चेतन आङ्थुपोले निर्देशन गरेका छन्। नाटकले दर्शकलाई पाँच दशकअघि आदिवासी जनजाति र सीमान्तकृतले भोगेको भोगाइ देखाउँदै छ। ‘यो कथा पहाडबाट तराई झरेर झोडा फाँडेर बस्नेको हो। झोडा फाँडेको कालखण्ड धेरै लामो छ। तर, हामीले ०२६ देखि ०३२ सालसम्मको कथालाई समेटेका छौँ,’ निर्देशक आङ्थुपो भन्छन्।

आफूलाई रंगमञ्चमा फरक र सीमान्तकृतको कथा भन्ने मन भएका कारण यस्ता नाटक मञ्चन गर्न सकिएको निर्देशक आङ्थुपो बताउँछन्। ‘नाटकमा सीमान्तका कुरा उठाइनुपर्छ। जसले आफ्ना संघर्ष र दुःख भन्न सक्दैन त्यस्ताको कथा हामीले सुनाउनुपर्छ। त्यही भएर यो विषय रोजियो,’ उनले भने, ‘नाटकमार्फत झोडा फाँडेर बस्नेलाई राजनीतिले कसरी सुकुमबासी बनायो भन्ने कथा भन्न पाउँदा खुसी छु।’

 आफ्नो थिएटर नहुँदा खर्च बढ्यो

०६५ सालमा नयाँ बाटो नयाँ पाइला नामक नाट्य समूह बनाएर इलामको चुलाचुलीमा रंगकर्मको यात्रा सुरुवात भयो। ०७० सालमा जिल्ला प्रशासन कार्यालयमा चुलाचुली रंगमञ्च दर्ता भएर निरन्तर रंगकर्ममा लागिरहेको छ, चुलाचुली रंगमञ्च। यद्यपि, चुलाचुली रंगमञ्चको आफ्नै थिएटर छैन। दुःख गरेर नाटक मञ्चन गर्दै आएको छ। आफ्नो थिएटर नहुँदा रिहर्सल गर्नसमेत मुस्किल छ। 

यद्यपि, कहिले अरूकाे थिएटरमा त कहिले भाडामा हल लिएर नाटक मञ्चन गर्दै आएको छ। यसपटक दमकस्थित किराँत भवन भाडामा लिएर नाटक मञ्चनको तयारी गरिरहेको निर्देशक आङ्थुपो बताउँछन्। ‘हामीसँग आफ्नो भवन छैन। तसर्थ अरू हलहरू भाडामा लिएर गर्नुपर्ने बाध्यता छ। यसपटक यो नाटकमा क्यानभास ठूलो चाहिएको थियो। त्यहीअनुसार किराँत भवनलाई छान्यो,’ उनले भने, ‘करिब डेढ महिनादेखि हामी यहाँ रिहर्सल गर्दै छौँ। नाटक सक्दासम्मको ५० हजार बुझाउनुपर्छ। किराँत भवनले हामीलाई झन्डै एक लाख छुट दियो।’

यस्तै, आफ्नै थिएटर नहुँदा नाटकमा खर्च बढेको निर्देशक आङ्थुपो बताउँछन्।  थिएटरका लागि आवश्यक पर्ने ह्विङ्स (कालोपर्दा)का लागि २५ हजार, लाइटलाई ७० हजार, जेनेरेटरको २५ हजार भाडा तिर्नुपर्ने उनी बताउँछन्। यस्तै, दर्शक बस्नका लागि डेढ सय जना अट्ने बाँसको प्याराफिट निर्माण गरिएको छ। यसका लागि ५५ हजार खर्च भएको उनी बताउँछन्। आफ्नै थिएटर हुने हो भने यो खर्च घट्ने उनी बताउँछन्। चुलाचुलीमा भाडामा लिँदा भवनसमेत नभएका कारण दमकमा नाटक मञ्चन गर्नुपरेको उनले बताए।

जसले नाटकमा लगानी गरे

नाटकमा खासै लगानी गर्ने निर्माता भेटिँदैनन्। तर, यसपटक चुलाचुली रंगमञ्चले भने नाटकमा निर्माता भेट्यो। चुलाचुली रंगमञ्चको दर्शकका रूपमा जोडिएका सुरेश माङ्पाहाङ राईले नाटक ‘झोडा’मा लगानी गरे। जनवादी कलाकारको रूपमा चिनिएका दमक– ८ का राईले यो नाटकमा झन्डै ६ लाख लगानी गरेका छन्। ‘नाटकले मानिसको जीवन बोल्छ। फेरि झोडा विषय पनि सीमान्तकृतको विषयमा छ। यसले मेरो मन छोयो,’ उनले भने, ‘साथीहरूले कथा सुनाएर नाटक गर्ने भन्नुभयो। तर, स्रोत जुटाउन मुस्किल भयो। त्यही भएर मैले लगानी गरेँ।’

सुरेश दमक र आसपासमा मञ्चन हुने नाटकका नियमित दर्शक हुन्। ‘कलालाई सम्मान गर्नुपर्छ। जुन सहरले कलालाई सम्मान गर्दैन त्यो सहर बन्दैन। थिएटरहरू बिजोग अवस्थामा चलेको देख्दा मन खिन्न हुन्छ,’ उनले भने, ‘चुलाचुलीको ग्रामीण भेगमा चुलाचुली रंगमञ्चले नियमित नाटक मञ्चन गरेको छ। यसको पनि आफ्नै थिएटर भवन भएको हेर्ने मन छ।’ नाटकले आफ्नो लगानी उठाएन भने पनि सीमान्तकृतको मुद्दामा यसरी काम गर्न पाउँदा खुसी हुने उनी बताउँछन्। 

नाटक ४० जनाको समूहले तयारी गरिरहेको छ। अन्तिममा उनीहरूलाई राम्रो पारिश्रमिक दिएर पठाउन पाए आफू खुसी हुने उनी बताउँछन्। उनी रिहर्सलको समयमा पनि प्रत्येक दिन रिहर्सलस्थल किराँत भवन पुगे । उनले कलाकारलाई हौसला दिन उनीहरूसँगै नाँचे, गाए र रमाए। आफूले देखेका कमजोरी पनि कलाकारलाई भने।

सुझावित समाचार