नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षसहित पदाधिकारीमा सहमति जुटेको छ । प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी सर्वसम्मत भएका छन् । त्यस्तै, उपाध्यक्ष, सचिव र उपसचिवमा पनि सहमति भएको नेताहरूले बताएका छन् । अध्यक्षसहित पाँच पदाधिकारीमा सहमति भएपछि सदस्यका लागि निर्वाचन गर्ने तयारी छ ।
अध्यक्ष पदका उम्मेदवार कमलप्रसाद तिमिल्सिना, बचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैसी सर्वसम्मत भएका हुन् । त्यस्तै, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही पनि निर्विरोध भएका छन् । उपाध्यक्षका उम्मेदवार हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्रबहादुर शाहीले हिजै उम्मेदवारी फिर्ता लिएका थिए।
अध्यक्षमा भीम रावल पक्षका उम्मेदवार साउदको टिमलाई उपसचिव दिने सहमति भएपछि पदाधिकारीमा सहमति जुटेको हो । सचिवमा उम्मेदवारी दिएका राजेश खाती, रतनबहादुर रेग्मी र जीवन बमले उम्मेदवारी फिर्ता लिएपछि कैलालीका रणबहादुर चन्द निर्विरोध भएका छन् । उपसचिव (खुला)मा कञ्चनपुरका नरबहादुर विक र भागरथी विष्ट निर्विरोध भएका निर्वाचन कमिटीले जनाएको छ । विक अध्यक्षमा उम्मेदवारी दिएका साउद प्यानलका हुन् ।
अधिवेशनको निर्धारित अवधिमा थप गरिएको तेस्रो दिन पदाधिकारीमा सहमति जुटेको हो । प्रदेश अधिवेशन २१ र २२ असोजमा तोकिएको थियो । एमाले अध्यक्ष केपी ओलीले अधिवेशन उद्घाटनमै सहमतिका आधार नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर, नेताहरूले दुई दिनसम्म सहमतिको प्रयास गरे पनि सम्भव नभएपछि निर्वाचन कमिटीले मंगलबार बेलुकी ५ बजेका लागि मतदानको समय तोकेको थियो । अध्यक्षका उम्मेदवारहरू प्यानलसहित प्रतिस्पर्धाको तयारीमा थिए ।
मतदान हुने तयारी भएपछि स्थायी समिति सदस्य कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी, पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना, निरुदेवी पाल, नारदमुनि रानालगायत यहाँका प्रभावशाली नेताहरू फरक–फरक कित्तामा उभिएका थिए । थापा, पाल, रानालगायत नेताहरू जैसीको पक्षमा थिए । प्रदेश अध्यक्ष भण्डारीसहितका नेताहरू तिमिल्सिना र केन्द्रीय सचिव भट्ट सिंहको पक्षमा थिए ।
‘चुनाव हुने अवस्था थियो, तर अध्यक्षले फोन गरेर जसरी पनि सहमति गर्नु भन्ने निर्देशन दिएपछि नेताहरू एक ठाउँमा उभिएका हुन्,’ एमालेका एक नेताले भने । अधिवेशन लम्बिएपछि धेरैजसो प्रतिनिधिहरू घर फर्किसकेका छन्।