इजरायलमा ज्यान गुमाएका नागरिककाे शव तत्काल स्वदेश ल्याउन समितिको निर्देशन

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण

इजरायलमा ज्यान गुमाएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो। समितिले घाइतेहरूको शीघ्र स्वास्थ्य उपचार गरी बेपत्ता भएकाहरूको खोजी गर्न र स्वदेश फिर्ता हुन इच्छुक नागरिकलाई तत्काल फिर्ता ल्याउने प्रबन्धन गर्नसमेत निर्देश गरेको छ।

‘उक्त अकल्पनीय घटनाबाट निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरूको शीघ्र स्वास्थ्य उपचार गर्न, बेपत्ता भएकाहरूको खोजी गर्न, अप्ठ्यारोमा परेका नेपालीको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना राख्ने नेपालीलाई तत्काल फिर्तीको प्रबन्ध पहल गर्न समिति सरकारलाई निर्देश गर्दछ,’ बैठकका निर्णय सुनाउँदै समितिका सभापति राजकिशोर यादवले भने।

समितिले भविष्यमा घट्न सक्ने यस्ता घटनाको पूर्वआकलन गरी विदेशस्थित नेपाली दूतावास र नियोगहरूलाई सम्बन्धित देशमा रहेका नेपाली नागरिकको विवरण अद्यावधिक गरी पूर्वतयारी अवस्थामा राख्न तथा ती निकायहरूलाई स्रोतसाधनसहित सक्षम र सशक्त बनाउनसमेत निर्देशन दिएको छ।

सुझावित समाचार