बिपी प्रतिष्ठानका चिकित्सकहरू आन्दोलन गर्न काठमाडौंमा

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण

लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया सुरु गर्ने सहमति कार्यान्वयन नभएको भन्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरू आन्दोलन गर्न काठमाडौं गएका छन् । चिकित्सकहरू काठमाडौं गएपछि प्रतिष्ठानमा उपचारका लागि पुगेका बिरामीको बिचल्ली भएको छ । यसअघि चिकित्सकहरूसँग प्रतिष्ठानले गत २४ भदौमा एक महिनाभित्र बढुवा प्रक्रिया सुरु गर्ने सहमति गरेको थियो ।

तर, सहमति कार्यान्वयन हुने अवस्था नदेखिएको भन्दै चिकित्सक कल्याण समाजको नेतृत्वमा सिनियर रेजिडेन्ट, एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिसन प्रोफेसर गरी ५५ जना चिकित्सकहरू काठमाडौं प्रस्थान गरेका हुन् । 

प्रतिष्ठानका चिकित्सकहरूले २३ असोजसम्म माग पूरा नभए उपकुलपति र सहकुलपतिलाई राजीनामा बुझाउने चिकित्सक कल्याण समाजले जनाएको छ । समाजका अधयक्ष डा. सेराज अहमद खानले भने, ‘नियमित रूपमा हुनपर्ने बढुवा सात वर्षदेखि रोकिएको छ, जसकारण सबैभन्दा बढी मार हामीलाई परेको छ ।’

चिकित्सकहरूले २३ देखि २५ असोजसम्म स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा धर्ना दिने, २६ असोजसम्म आन्तरिक बढुवाका लागि रोकिएको अन्तर्वार्ता सुरु नगरे सामूहिक राजीनामा दिने समाजका अध्यक्ष खानले बताए । 

सुझावित समाचार