के इजरायल–हमास युद्धले रुसलाई फाइदा गर्छ ?

पछिल्लो युद्धका कारण युक्रेनले पाइरहेको सहयोगमा असर गर्ने रुसी सञ्चारमाध्यमको तर्क

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण

शनिबार बिहानै हमासले गाजापट्टीमाथि लागू इजरायली नाकाबन्दीलाई निस्तेज बनाउँदै गाजानजिकका इजरायली बस्तीमा आक्रमणले विश्वको ध्यान तानेको छ । आश्चर्यजनक र आकस्मिक रूपमा भएको हमासको घुसपैठबाट इजरायलमा करिब ८०० ले ज्यान गुमाएका छन् भने दुई हजारमाथि घाइते भएका छन् । त्यस्तै हमासले इजरायलबाट सयभन्दा बढी मानिसलाई अपहरण गरेर गाजा लगेको छ ।

हमासले छोटो समयमा हजारौँ रकेट प्रहार गर्दा इजरायलको चर्चित मिसाइल प्रतिरक्षा प्रणाली आइरन डोमले सबैलाई रोक्न सकेको थिएन । हमासले दशकौैँमा पहिलोपटक इजरायल–गाजाबीचको तारबार तोडेर उसका लडाकुलाई इजरायल गुसपैठ गराउन सफल भएको थियो । इजरायलले गाजा क्षेत्रका हमासका आश्रयस्थलमा गरेको जवाफी कारबाहीमा सयौँका ज्यान गएको छ । यसले स्वाभाविक रूपमा ध्यान अहिले युक्रेनबाट मध्यपूर्वतर्फ सरेको छ । अन्तर्राष्ट्रिय चासोका अतिरिक्त युक्रेनले पाउँदै गएको आर्थिक तथा सैन्य सहयोग पनि घट्ने चर्चा सुरु भएको छ । 

शक्तिशाली रुसको आक्रमणविरुद्ध प्रतिरोध गर्न आर्थिक रूपमा कमजोर युक्रेन पश्चिमी शक्ति त्यसमा पनि अमेरिकाको आर्थिक तथा सैन्य सहयोगमा निर्भर देखिन्छ । उसले पाइरहेको कुनै प्रकारको सहयोगमा ह्रास आएमा युद्धमा रुस हाबी हुन सक्ने सम्भावना रहन्छ । केही पश्चिमी सुरक्षाविद तथा नीति–निर्माताहरू रुस आफैँले यस्तो माहोल सिर्जना गर्न लागिसकेको बताएका छन् । ‘इस्टिच्युट फर स्टडी अफ वार(आइएसडब्लू)’ले आइतबार रुस आफैँले युक्रेनले पाउँदै गरेको अन्तर्राष्ट्रिय समर्थन तथा चासो घटाउन सूचना अभियान सुरु गरेको चेतावनी दिएको छ । आइएसडब्लुका अनुसार इजरायलमाथि हमासले आक्रमण गरेलगत्तै रुसबाट त्यस्तो अभियान सुरु भएको थियो । 

पश्चिमी नीति–निर्माताका अनुसार युक्रेनले पाइरहेको अन्तर्राष्ट्रिय सहयोग घट्ने कुरालाई बढाइ–चढाइ प्रचार गरेर रुसले युक्रेनी जनता तथा सेना हतोत्साही गराउन खोजेको आरोप लगाएका छन् । रुसले आगामी दिनमा इजरायल–हमासको द्वन्द्व लम्बिएमा पश्चिमले युक्रेन र मध्यपूर्वमध्ये एउटा छान्नुपर्ने स्थिति आउने कुरालाई व्यापक प्रचार गरिरहेका छन् । रुसी नेताले पनि पश्चिमको गलत क्षेत्रमा हस्तक्षेपको कारण मध्यपूर्वमा युद्ध भड्केको आरोप लगाएका छन् । विभिन्न रुसी नेताले यस्तै सन्देश सामाजिक सञ्जालमा उठाइरहेका पाइएको छ । 

रुसको आक्रमणविरुद्ध प्रतिरोध गर्न आर्थिक रूपमा कमजोर युक्रेन अमेरिकाको आर्थिक तथा सैन्य सहयोगमा निर्भर देखिन्छ । उसले पाइरहेको कुनै प्रकारको सहयोगमा ह्रास आएमा युद्धमा रुस हाबी हुन सक्ने सम्भावना रहन्छ । केही पश्चिमी सुरक्षाविद तथा नीति–निर्माताहरू रुस आफैँले यस्तो माहोल सिर्जना गर्न लागिसकेको बताउँछन् ।
 

रुसको सुरक्षा परिषद्का उपाध्याक्ष रहेका रुसी पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले मध्यपूर्वमा द्वन्द्व भड्किएसँगै ट्विटरमा लेखेका थिए, ‘योम किपुर युद्ध सुरु भएको ५०औँ वर्षगाँठको अवसरमा हमास र इजरायलबीच सुरु भएको द्वन्द्व अप्रत्यासित विकासक्रमको रूपमा देखिएको छ । इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व दशकौँदेखि चलिरहेको छ । यसमा अमेरिका प्रमुख अंग रहेको छ । तर, प्यालेस्टाइनी–इजरायली बसोवासलाई व्यवस्थापन गर्न सक्रिय हुनुको साटो यी बेइमानहरू हाम्रो क्षेत्रमा द्वन्द्व मच्चाउन आए । यसका लागि तिनले नव–नाजीहरूलाई पूर्णस्तरको अनुदान दिने, एकआपसमा नजिकको सम्बन्ध भएका दुई जनतालाई एकअर्काविरुद्ध लडाइरहेका छन् ।’ मेदभेदेवले दुई नजिकका सम्बन्ध भएको भनेर युक्रेनी र रुसलाई संकेत गरेका हुन् । 

उता पश्चिममा रुसी प्रोपगान्डाकर्मीका रूपमा चिनिएका सर्गेइ मरदनले इजरायल–गाजा बीचको द्वन्द्वले रुसलाई लाभ पुग्ने दाबी गरेका छन् । ‘विश्वको ध्यान पुनः मध्यपूर्वका दीर्घकालीन आगो निभाउन मोडिँदा युक्रेन युद्धमा रुसको हात माथि पर्नेछ,’ सर्गेईले उनको टेलिग्राम च्यानलमा लेखेका छन् । 

इजरायल–हमास युद्धले युक्रेनले पाइरहेको सहयोगमा असर गर्ने तर्क रुस र त्यहाँका मिडियाले मात्र गरिरहेका छैनन् । रुस–युक्रेन युद्धमा लडेको अनुभव भएका अवकाश प्राप्त मेजर ओलेक्सी हेटम्यानले पनि रुसविरुद्धको युद्धमा युक्रेनले पाइरहेको अन्तर्राष्ट्रिय सहयोग घट्ने टिप्पणी गरेका छन् । ‘इजरायलमा अमेरिकाको हातहतियार भण्डारण छ । नजिक भएकाले अमेरिकाले युक्रेनलाई दिँदै आएको हातहतियारहरू यिनै भण्डारणबाट पठाइरहेको छ । त्यहाँबाट भइरहेको हतियार आपूर्ति पूर्ण रूपमा नरोकिए पनि केही समयका लागि अवरुद्ध हुन सक्छ । स्वाभाविक रूपमा इजरायलले ती हतियार आफ्नै प्रयोगका लागि अमेरिकासँग माग गर्नेछ । यसले रुससँगको युद्धमा युक्रेन केही प्रभावित हुनेछ,’ युक्रेनी सञ्चारमाध्यम ‘रेडियो एनभी’मा बोल्ने क्रममा ओलेक्सीले भने । 

त्यसबाहेक इजरायलमाथिको आक्रमणअघि युक्रेनी युद्धमाथि कायम विश्वको एकीकृत चासो पनि छरिने उनले बताए । ‘तर, यसको मतलब सबैले इजरायल संलग्न युद्धतर्फ मात्र ध्यान दिनेछन् र युक्रेनलाई बिर्सिन्छन् भन्ने होइन । मानिसहरूले धेरैतर्फ एकैपटक ध्यान दिन सक्छन् । त्यस्तै युक्रेनले पाइरहेको सहयोग पनि केही प्रभाव परे पनि त्यो धेरै ठूलो नहुन सक्छ,’ ओलेक्सीले भने । 

विश्व अर्थतन्त्रमा असर
युक्रेनमा रुसी आक्रमण, चीनसँग अमेरिकाको बढ्दो कटुता र अजरबैजना–अर्मेनियाबीच भएको झडप भर्खरै सकिएको परिपे्रक्षमा अर्को भूराजनीतिक तनावले विश्व अर्थतन्त्रलाई असर गर्ने चिन्ता पनि गहिरिँदै छ । लगानीकर्ता तथा उद्योगीहरू पहिले नै युक्रेन युद्ध र चीन–अमेरिकाबीच बढ्दो तनावले तिनको व्यापारमा पारेको असरबाट चिन्तित थिए । इजरायल–गाजाबीच सुरु भएको हिंसात्मक द्वन्द्व अस्थिर मध्य–पूर्वका अन्य भागमा पनि फैलिने खतरा छ । त्यसो भएमा त्यसले नाजुक सन्तुलन कायम गरिरहेको विश्व अर्थतन्त्र असुन्तलित बन्न सक्छ । 

शनिबारको आक्रमणमा हमासले इजरायलको बहुचर्चित मिसाइल तथा स्थल प्रतिरक्षा प्रणालीलाई माथ दिएको चर्चा छ । सो दाबी सही निस्किए मध्यपूर्वका अन्य इजरायली शत्रुको मनोबल बढ्न सक्छ । उता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनको गठबन्धन सरकार अहिले ठूलो स्तरको आक्रमणको दबाबमा छ । सुरुका २४ घण्टामा इजरायलले गाजामा गरेको जवाफी आक्रमणमा करिब ४०० जनाको ज्यान गइसकेको छ । इजरायली सरकारले गाजाभित्र सेना पठाएमा हमासका अतिरिक्त उत्तरी छिमेकी लेबनानमा बसिरहेका हेजबुल्लाहले पनि इजरायलमाथिको आक्रमण तीव्र पार्न गर्न सक्छ । दुवै समूहलाई इरानको समर्थन छ । 

सबैभन्दा गम्भीर भावी स्थिति इजरायल र तेहरान एकअर्काविरुद्ध प्रत्यक्ष आमनेसामने भए आउनेछ । त्यस्तो द्वन्द्वले पूरै मध्य–पूर्वलाई गाँज्नेछ, जुन विश्वको ३२ प्रतिशत कच्चा तेलको स्रोत हो । यसले गर्दा त्यहाँको अस्थिरताले विश्वभर असर देखिनेछ । विशेषतः विश्व अहिले कोरोना महामारीपछि अर्थतन्त्र खुलेपछि बढेको महँगी नियन्त्रण गर्ने क्रममै छ । सबैजसो देशका केन्द्रीय बैंकका बैंकरहरू ब्याजदर बढाएर महँगी नियन्त्रण लिने प्रयासमा छन् । ती प्रयासले केही सकारात्मक संकेत दिइरहेका समयमा मध्यपूर्वको नयाँ द्वन्द्वले बैंकका प्रयासमा पानी खन्याइदिन सक्छ । जस्तो– आक्रमणको भोलिपल्ट तेल बजार खुल्दा ‘ब्रेन्ट क्रुड’ तेलको मूल्य प्रतिब्यारेल ८६ डलरमा खरिद–बिक्री भएको थियो, जुन पहिलेभन्दा दुई प्रतिशतले बढी हो । 

(रोयटर्स र अन्य एजेन्सीहरूबाट)

सुझावित समाचार