काठमाडौं महानगरपालिकाले नगरवासीलाई रगत र रक्त तत्वव नि:शुल्क उपलब्ध गराउने गरी नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ । महानगरका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनीता डंगोलको रोहवरमा महानगरका तर्फबाट स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापाले उक्त सम्झौतापत्रमा सोमबार हस्ताक्षर गरेका हुन् ।
स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत र रक्त तत्वव नि:शुल्क उपलब्ध गराउन लागेको महानगरले जनाएको छ । सम्झौतापछि महानगरपालिकाकी उपमेयर डंगोलले अब रगत प्राप्त गर्न कसैलाई फोन गराउनुनपर्ने, सिफारिस गराउनुनपर्ने बताइन् । ‘नियमित रक्तदान कार्यक्रम र संकलित रगतको उचित व्यवस्थापनबाट अभाव कम गराउन सकिन्छ । यसवेला कसैलाई सिफारिस गर्नुपर्ने स्थिति हुँदैन,’ उनले भनिन्, ‘महानगरवासीबाट थालिएको नि:शुल्क रगत र रक्त तत्वव उपलब्ध गराउने कार्यक्रमको प्रभाव हेरेर विस्तार गरिनेछ ।’ यसअघि महानगरले नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन थालिसकेको छ ।
जनस्वास्थ्य विभागका प्रमुख पौडेलका अनुसार महानगरवासीलाई उपलब्ध गराइने रगत व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइनेछ । यसका लागि प्रतियुनिट एक हजार एक ६० रुपैयाँ र क्रस म्याच गराउनुपरे थप दुई सयमा उपलब्ध गराइनेछ । सम्झौतामा महानगरका वडाबाट रक्तदान कार्यक्रम आयोजना र अन्य रक्तदानका कार्यक्रममा खाजाबापत प्रत्येक रक्तदातालाई दुई सय रुपैयाँ उपलब्ध गराइनेछ । रेडक्रस सोसाइटीका अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले भने, ‘रक्त व्यवस्थापनमा महानगरपालिकाले लिएको नेतृत्वबाट ठूलो सघाउ पुग्नेछ ।’ सम्झौताबमोजिम महानगरपालिकाले पहिलो चरणमा तीन लाख रुपैयाँ उपलब्ध गराउनेछ । केन्द्रीय रक्त सञ्चार सेवाले हरेक तीन महिनामा महानगरपालिकामा खर्च विवरण पठाउनेछ । निकासा गरिएको ८० प्रतिशत रकम सकिएपछि रक्त सञ्चारले प्रतिवेदन पेस गर्नेछ । यसका आधारमा महानगरपालिकाले थप निकासा दिनेछ ।
सेवा लिनका लागि महानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण पेस गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचयपत्र, बसाइँसराइको प्रमाणपत्र, जन्म दर्ता, विवाह दर्ता प्रमाणपत्रजस्ता कागजमध्ये कुनै एक पेस गरे हुनेछ । यस्ता कागजलाई बिरामी वा बिरामीका आफन्तले प्रमाणित गर्नुपर्नेछ । आकस्मिक र आपत्कालीन अवस्थामा प्रमाण दिएर सेवा लिन नसक्ने अवस्था भए तिरेको शुल्क प्रमाणका आधारमा शोधभर्ना दिइनेछ । बागमती प्रदेशले महानगरपालिकाभित्रका पाँचवटा अस्पतालहरू (परोपकार स्त्री तथा प्रसूति अस्पताल, कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र सहिद गंगालाल हृदय केन्द्र)मा बागमती प्रदेशका बिरामीले उपचार गराउँदा चाहिने रगत र रक्त तत्ववको खर्च व्यहोर्ने सम्झौता गरिसकेको छ । यसबाहेकका अस्पतालका लागि महानगरपालिकाले व्यवस्थापन खर्च व्यहोर्नेछ ।