सिराहा प्रहरीले हत्या अभियोगमा फरार रहेका एक युवकलाई ६ वर्षपछि पक्राउ गरेको छ । कर्जन्हा नगरपालिका– १० का शशिभूषणप्रसाद साहको हत्यामा संलग्न रहेको आरोपमा फरार रहेका मिर्चैया नगरपालिका– १ का २७ वर्षीय नन्दा भन्ने उमेश उरावलाई प्रहरीले पक्राउ गरेको छ ।
शशिभूषणको ०७४ असोज २३ गते आफ्नै घरमा घाँटी रेटी हत्या गरिएको थियो । उरावलाई जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय मिर्चैयाकोे संयुक्त टोलीले मिर्चैया नगरपालिका– १ घरबाटै नियन्त्रणमा लिएर जिल्ला अदालत सिराहामा पठाइएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी रवीन्द्रराज पाण्डेले जानकारी दिए । जिल्ला अदालतले पक्राउ गरिएका उरावका सम्बन्धमा आज आदेश गर्ने डिएसपी पाण्डेले बताए ।
साहलाई निजकै घरमा नन्दा भन्ने उमेश उरावसमेतका व्यक्तिहरूले रिसिइबीको कारणले धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको प्रवक्ता डिएसपी पाण्डेले बताए । उक्त घटनामा उवारसँगै सोमन भन्ने रामईश्वर कापर र रूपेश यादवलाई ०७४ मंसिर ८ मा नै पक्राउ गरिएको थियो । पक्राउ परेका कापर र यादवलाई जिल्ला अदालत सिराहाले जन्मकैदकाे फैसला गरेको थियो । पक्राउ परेका दुवैजना अहिले जिल्ला कारागार सिराहामा कैद भुक्तान गरिरहेका छन् ।