नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा रहेका नेपालीको उद्दार र खोजबिनमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन्। एमाले सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशनको आइतबार धनगढीमा उद्घाटन गर्दै उनले इजरायलमा नेपाली मारिएको सन्दर्भमा सरकार कहाँ छ भन्दै प्रश्न गरे।
अफगानिस्तानमा हिंसा हुँदा विगतमा आफ्नो सरकारले मृत्यु भएका नेपालीको शव र घाइतेलाई ल्याउने काम तत्कालै गरेको दाबी गर्दै उनले अहिले इजरायलमा भएको घटनामा सरकार हराएको आरोप लगाए। ‘अफगानिस्तानमा मान्छे मारिँदा, मान्छे घाइते हुँदा, त्रासदीको परिस्थिति हुँदा हामीले सोझै विमान पठाएर मारिएका मानिसका शवदेखि घाइते र आउन चाहने अरूलाई ल्याउने काम तत्काल गरेका थियौँ,’ ओलीले भने, ‘अहिले देशमा सरकार छ कि छैन?’
उनले कृषि पढ्न इजरायल गएका सातजना नेपाली विद्यार्थीको त्यहाँको द्वन्द्वमा परेर मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरे। दुई वर्ष गठबन्धनको सरकार हुँदा मुलुक अहिले साँच्चिकै अप्ठ्यारोमा रहेको र थप अप्ठ्यारोमा गइरहेको ओलीको टिप्पणी छ। ‘एमालेले सरकार छाडेको दुई वर्षमै देश ओरालो लागेको छ,’ उनले भने, ‘देशको अर्थतन्त्र ध्वस्त भयो, अराजकता बढेको छ, जनताको जीवनस्तर झन् कमजोर भएको छ।’
देश अप्ठ्यारोमा रहेका वेला प्रधानमन्त्री विदेशको तीर्थाटनमा गएर आएकाे उनले टिप्पणी गरे। प्रधानमन्त्रीको विदेश भ्रमण घुमफिर गर्ने र स्वागत लिनेबाहेक अन्य उपलब्धि नभएको उनको दाबी छ। ‘प्रधानमन्त्री दुई धाम जानुभयो, अमेरिकी धाम र चाइना धाम। दुई धाम गएर उहाँले देशका लागि के गर्नुभयो?’ ओलीले भने, ‘देशको माया नभएपछि मानसरोवरमा डुबुल्की लगाएर केही हुँदैन।’ भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले सिमाना, इपिजीको प्रतिवदेनलगायत मुलुकका लागि महत्वपूर्ण कुनै विषय उठाउन नसकेको ओलीले बताए।
सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको नारा दिए पनि सरकारकै संरक्षणमा भ्रष्टाचार भइरहेको ओलीको आरोप छ। सुन तस्करी, ललितानिवासलगायत भ्रष्टाचारका कुनै पनि काण्डमा सरकारले मुद्दा चलाउन नसकेको उनको भनाइ छ। ‘सरकारले अहिलेसम्म भ्रष्टाचारमा कुन मुद्दा चलाएको छ? ललितानिवासमा जग्गा आफ्नो बनाउनेलाई होइन, किन्नेलाई मुद्दा चलाइएको छ,’ उनले भने, ‘सुन तस्करीको अहिलेसम्म छानबिनै हुन सकेको छैन।’
सञ्चारमाध्यमप्रति खनिए ओली
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली सरकारका गलत कामप्रति मौन रहेको आरोप लगाउँदै सञ्चारमाध्यममाथि खनिए। सरकारको ‘दानापानी’ खाएर सञ्चारमाध्यमहरू चुपचाप बसेकाे उनको आरोप छ।
माओवादी उपाध्यक्ष कृष्णबहादुर महराप्रति लक्षित गर्दै उनले भने, ‘एकजनाले एउटालाई दुई सय ९४ पटक फोन गर्छ। सरकार अझै भन्छ, भ्रष्टाचारविरोधी अभियान चलाइरहेका छौँ। सरकारको दानापानी खाएर सञ्चारमाध्यमहरू चुपचाप छन्। एमालेको पालामा कहिले यती, कहिले ओम्नी भनेर कराउँथे।’
अध्यक्ष ओलीले सहमतिमै प्रदेशको नेतृत्व चयन गर्न प्रदेशका नेताहरूलाई निर्देशनसमेत दिए। ओली बोलिरहँदा केही प्रतिनिधिले सहभागी दीर्घाबाट भीम रावल खोइ भनेर प्रश्नसमेत गरेका थिए। सहभागीले भीम रावल खोइ भनेपछि ओलीले चुप लाग्न निर्देशन दिएका थिए।