भ्यानकुभरमा गुन्जियो नेपथ्य

आइतबार, २१ असोज, २०८०
डिजिटल संस्करण

नेपथ्यले शुक्रबार क्यानडाको भ्यानकुभर सहरस्थित ‘भोग थिएटर’मा आफ्नो प्रस्तुति दिएको छ । ब्यान्डले ‘सा कर्णाली’, ‘मै मरी जाउँला’, ‘कोशीको पानी यो जिन्दगानी’, ‘आमाको कोखमा बास मात्र लिएँ, कुन देशको मरन हौ हजुर’लगायत गीत गाइरहँदा दर्शकदिर्घामा कतिपयको अनुहार भावुक देखिन्थ्यो । कन्सर्टमा त्यसपछि ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ र ‘लामपाते सुरती’ सुनाइएको थियो ।

कन्सर्ट हेर्नका निम्ति क्यानडाका विभिन्न सहरमा बसोवास गरिरहेका नेपालीहरू आएका थिए । नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले पछिल्लो एक वर्षदेखि ब्यान्डले मानवसेवा आश्रमसँग जोडिएर ‘मानवताका लागि संगीत’ अभियान चलाइरहेको बताए । ‘सडकमा अलपत्र परेर बाँचिरहेका मानिस देख्दा दिक्क लाग्थ्यो,’ अमृतले थपे, ‘केही वर्षयता मानवसेवा आश्रमले त्यस्ता मानिसको देशैभरि उद्धार गरिरहेको थाहा पाएपछि हामी पनि यो पवित्र उद्देश्यमा जोडिन पुगेका छौँ ।’

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । भ्यानकुभरको दोस्रो कन्सर्ट सकिएपछि टोरन्टो पुगेको नेपथ्यले आज त्यहाँस्थित ‘म्यासी हल’मा प्रस्तुति दिनेछ । 

See More On

सुझावित समाचार