चक्रपथमा द्रुत गतिका सार्वजनिक बस नचल्ने

आइतबार, २१ असोज, २०८०
डिजिटल संस्करण

काठमाडौं उपत्यकाको २७.३० किलोमिटर लामो भित्री चक्रपथ (रिङरोड)मा द्रुत गतिको बिजुली बस परिवहन (इबिआरटी) आयोजना बनाउने योजनाबाट सरकार पछि हटेको छ । गत ३ असोजबाट रत्नपार्क–सूर्यविनायक–रत्नपार्क रुटमा द्रुत गतिको बस सेवा (बिआरटी) सुरु गरेको सरकारले चक्रपथमा इबिआरटी बनाउने योजना भने तत्काललाई स्थगित गरेको हो । 

त्यसका लागि चक्रपथमा इबिआरटी आयोजनाको सम्भाव्यता अध्ययन गर्नका लागि आह्वान गरिएको ग्लोबल टेन्डर पनि रद्द गरिएको छ । लगानी बोर्डले चक्रपथ इबिआरटीको अध्ययन गर्न पहिलोपटक २० कात्तिकदेखि २६ मंसिरसम्म ग्लोबल टेन्डर आह्वान गरेको थियो । तर, त्यसमा प्रस्ताव दिएका १३ कम्पनीको मूल्यांकन भइरहेका वेला उक्त टेन्डर रद्द गरेर २२ माघदेखि ५ चैतसम्ममा अर्काे टेन्डर आह्वान गरिएको थियो । तर, बोर्डले उक्त टेन्डर पनि गत २ साउनमै रद्द गरिसकेको छ । त्यसपछि बोर्डले यसबारे थप प्रक्रिया अघि बढाएको छैन । 

तत्काललाई योजना स्थगित गरिएको छ : अमृत लम्साल, प्रवक्ता, लगानी बोर्ड नेपाल
तत्काललाई चक्रपथमा इबिआरटी बनाउने योजना स्थगित गरिएको छ । चक्रपथमा मेट्रोरेल बनाउनेलगायतका सरकारी योजना पनि छन् । साथै, इबिआरटीका लागि पर्याप्त ठाउँ पनि नपुग्नेजस्तो देखियो । त्यसैले तत्काललाई चक्रपथमा इबिआरटी बनाउने योजना स्थगित गरिएको छ । अहिले यसबारे केही काम भएको छैन ।

सरकारले आर्थिक वर्ष ०७१/७२ को बजेटमै काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित गर्न धेरै यात्रु अट्ने बिआरटी योजना घोषणा गरेको थियो । त्यसपछि ०७५ मा लगानी बोर्डले यसलाई इबिआरटीको मोडेलमा निर्माण गर्ने प्रक्रिया अघि बढाएको थियो । बोर्डले रिङरोडमा दु्रत गतिको बिजुली बस सञ्चालन गर्न ०१९ (०७५/७६) मै पूर्वसम्भाव्यता अध्ययन गरिसकेको थियो ।  त्यसले चत्रपथमा इबिआरटी सञ्चालन गर्न सम्भव देखाएको थियो । ०१९ मा सम्पन्न लगानी सम्मेलनमा यो आयोजना निर्माण र सञ्चालन गर्न चारवटा लगानी प्रस्तावसमेत आएका थिए । सोहीअनुसार पूर्ण सम्भाव्यताका लागि टेन्डर पनि आह्वान गरिएको थियो । तर, अहिले सरकार एकाएक चक्रपथमा इबिआरटी बनाउने निर्णयबाट पछि हटेको छ ।

बोर्डका प्रवक्ता अमृत लम्सालले पनि तत्काललाई चक्रपथमा इबिआरटी बनाउने योजना स्थगित गरेको बताए । ‘चक्रपथमा मेट्रोरेल बनाउनेलगायतका सरकारी योजना पनि छन् । साथै, इबिआरटीका लागि पर्याप्त ठाउँ पनि नपुग्नेजस्तो देखियो,’ उनले भने, ‘त्यसैले तत्काललाई चक्रपथमा इबिआरटी बनाउने योजना स्थगित गरिएको छ । अहिले यसबारे केही काम भएको छैन ।’ यद्यपि, पछि सरकारले निर्देशन दिएको अवस्थामा यो आयोजना अघि बढ्न सक्ने बोर्डका एक अधिकारीले बताए । 

अध्ययन गर्न आधारभूत तथ्यांकै पाइएन 
मेट्रोरेललगायतका प्राविधिक कारण देखाउँदै बोर्डले तत्काललाई उक्त आयोजना बनाउने योजना स्थगित गरेको छ । तर, बोर्डले यस आयोजनाबारे अध्ययन गर्न आधारभूत तथ्यांकसमेत नपाएको स्रोतको भनाइ छ । त्यसले गर्दा यसबारे अहिले कुनै काम हुन नसकेको उनले बताए । 

बोर्डले उक्त आयोजना निजी–सार्वजनिक साझेदारी (पिपिपी) मोडेलमा बनाउन खोजेको थियो । त्यसका लागि निजी क्षेत्रलाई लगानीको प्रतिफल ग्यारेन्टी हुनुपर्छ । अध्ययन अर्थात् विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)ले नै प्रतिफलको ग्यारेन्टी गरेको हुनुपर्छ । जसलाई त्यहाँ आवतजावत गर्ने यात्रुको संख्याले सुनिश्चित गर्छ । तर, चक्रपथको कुन रुट (खण्ड)मा कति यात्रु हुन्छन् भन्नेबारे तथ्यांक पाउन नसकेको स्रोतको भनाइ छ । त्यसले गर्दा यसको सम्भाव्यता अध्ययन नै हुन नसकेको हो । ‘चक्रपथमा इबिआरटी भने चाहिन्छ नै । सोहीअनुसार हामीले पिपिपी मोडेलमा यसको निर्माण गर्ने भनेका थियौँ । त्यसअनुसार यसमा लगानीकर्तालाई लगानी प्रतिफलको ग्यारेन्टी हुनुपर्छ । लगानीको ग्यारेन्टी देखाउने मुख्य आधार नै यात्रु हुन् । तर, चक्रपथमा कति यात्रु आवतजावत गर्छन् भन्नेबारे विश्वसनीय तथ्यांक नै पाइएन,’ उनले भने, ‘त्यस्तो तथ्यांक पाउन सकेको भए, त्यसकै आधारमा आयोजनाबाट कति प्रतिफल पाउन सकिन्छ भनेर अनुमान गर्न सकिन्थ्यो । र, त्यसकै आधारमा यसमा निजी क्षेत्रलाई आकर्षित गर्न सकिन्थ्यो । तर, त्यस्तो तथ्यांक पाइएन । त्यसैले तत्काललाई यो स्थगित गरिएको हो ।’

विनातथ्यांक अध्ययन गर्दा निकट भविष्यमा लगानीकर्ताबाट भियाबिलिटी ग्याप फन्डिङ (भिजिएफ) माग हुने जोखिम रहेको स्रोतको भनाइ छ । जुन सरकारले दिन नसक्ने पनि उनले बताए ।  ‘राम्रोसँग अध्ययन नगरी आयोजना बनाउँदा भविष्यमा विभिन्न समस्या आउन सक्छन् । यदि, भविष्यमा यो आयोजना फाइनान्सियल भायबल देखिएन भने लगानीकर्ताबाट भिजिएफको माग हुन सक्छ, जुन भिजिएफ हामी दिन सक्दैनौँ,’ उनले भने, ‘त्यसैले तत्काललाई यो आयोजना बनाउने योजना स्थगित गरिएको छ । तर, भविष्यमा यो अघि बढ्न पनि सक्छ ।’ यद्यपि, बोर्डले यसअघि ०१९ मा गरेको पूर्वसम्भाव्यता अध्ययनमा यसमा दैनिक बढीमा दुई लाख ४० हजार यात्रुले सेवा लिन सक्ने बताइएको थियो । न्यूनतम भने एक लाख ५४ हजार यात्रु पाइने पूर्वसम्भाव्यता अध्ययनमा उल्लेख छ । ०२९ सम्म भने दैनिक अधिकतम तीन लाख आठ हजार र न्यूनतम एक लाख ७० हजार यात्रु हुने बोर्डको अनुमान थियो । तर, अहिले यसबारे विश्वसनीय तथ्यांक पाउन नसकेको स्रोतको भनाइ छ ।
 

सुझावित समाचार