धरानमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । धरान– ८ स्थित लाङघाली चोकमा सवारी दुर्घटना भएको हो । तीव्र गतिमा आएको स्कुटर र ट्रक एक–आपसमा ठोक्किएर उक्त दुर्घटना भएको प्रहरीको भनाइ छ ।
आज बिहान भएको दुर्घटनामा परी स्कुटरचालक इटहरी– ९ का आसबहादुर राईको मृत्यु भएको छ । स्कुटरको पछाडि बसेका धनकुटा साँगुरीगढी– ९ का टेकबहादुर राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
कोशी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को.१ख ४०६३ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०२-०४५ प ३७४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।