- एक सय ६२ पदका लागि तीन सय ८२ जनाको मनोनयन दर्ता
- २७ सदस्य निर्विरोध निर्वाचित
- केन्द्रका नेताहरू नै गुट बनाउन व्यस्त
एमाले गण्डकी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान हुने भएको छ । नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको हो । अहिले अध्यक्षमण्डलको बैठक जारी छ । बैठक सकिनासाथ निर्वाचन प्रक्रिया सुरु हुनेछ । नयाँ नेतृत्व चयनका लागि नाै सय सातजना प्रतिनिधिले मतदान गर्नेछन् । मतदानका लागि भोटिङ मेसिन प्रयोग गरिने भएको छ ।
पार्टी केन्द्रका नेताहरूले बाहिरी रूपमा सहमतिको रटान जपे पनि भित्री रूपमा आ–आफ्नो गुट तयार गर्न लागेपछि उनीहरूको भनाइ र गराइमा फरक देखिएको छ । निर्वाचनमा प्रस्ट दुई प्यानल तयार भएपछि नेतृत्व छान्नका लागि मतदान हुने निश्चित भएको हो ।
निर्वाचनमार्फत अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र उपसचिव महिला गरी पाँचजना पदाधिकारी र एक सय ५७ जना सदस्य निर्वाचित हुनेछन् । सदस्यहरूमा प्रदेश खुलातर्फ ५८, प्रदेश खुला समावेशीतर्फ १३, संघीय निर्वाचन क्षेत्रतर्फ १८, जिल्ला भूगोलतर्फ ६१ र लेखा समितिमा सात गरी पदाधिकारीसँगै एक सय ६२ जना निर्वाचित हुनेछन् । निर्वाचित नयाँ समितिले १० प्रतिशत सदस्य मनोनयन गर्नेछ ।
एक सय ६२ पदका लागि हुन लागेको निर्वाचनमा तीन सय ८२ जनाले मनोनयन दर्ता गराएका छन् । उनीहरूमध्ये पाँच पदाधिकारीका लागि ११ जना छन् भने अरू सबै सदस्यका उम्मेदवार हुन् । सदस्यमध्ये आदिवासी जनजाति महिला, अल्पसंख्यक महिलासँगै भूगोल र संघीय निर्वाचनलगायतका क्षेत्रका गरी २७ जना निर्विरोध भएका छन्।
केन्द्रका नेताहरू नै गुट बनाउन व्यस्त
१५ गते भएको अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि थिए पार्टीका महासचिव शंकर पोखरेल । उनले सम्बोधनका क्रममा भनेका थिए– गण्डकीले नेतृत्वमा सर्वसम्मत गरेर नयाँ सन्देश दिनेछ । उनले सहमतिमा नेतृत्व चयन गर्न उपस्थित नेता–कार्यकर्तालाई आग्रह गरेका थिए ।
उद्घाटन समारोहमा सहमतिमा नेतृत्व चयन गर्न जोड दिएका महासचिव पोखरेल त्यसको केही घन्टापछि आफूनिकटका नेताहरूलाई भेला पारेर गुट बनाउनतर्फ लागेका थिए ।
विशेषगरी गण्डकीमा पार्टीका उपमहासचिव लम्जुङका पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य कास्कीका खगराज अधिकारी पक्ष गुटको लडाइँ छ । दुवैजना पार्टी अध्यक्ष ओलीनिकट हन् ।
केन्द्रमा सम्बन्ध राम्रोजस्तो देखिए पनि प्रदेशमा भने उनीहरूले आफ्नो स्वार्थअनुकूल आफ्नो शक्ति देखाउने थलोको रूपमा पार्टीलाई लिँदै र प्रयोग गर्दै आएका छन् ।
हाल गुरुङ गुटलाई पार्टीका उपाध्यक्ष विष्णु पौडेलको साथ रहेको छ भने अधिकारी गुटलाई महासचिव पोखरेलको साथ छ । गुरुङ र अधिकारी पक्षसँगै गण्डकीको निर्वाचनमा एमाले सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण विष्ट, सचिव पद्मा अर्याल र किरण गुरुङको भूमिका पनि महत्वपूर्ण छ । दुवै गुटले उनीहरूलाई आ–आफ्नो पक्षमा तान्न प्रयास गरिरहेका छन् । तर, उनीहरू कसको पक्षमा खुल्छन भन्ने यकिन छैन ।
हाल विष्ट, अर्याल र गुरुङ भने प्रस्ट रूपमा कुनै गुटमा पनि खुलेका छैनन् । निर्वाचनमा होमिएका दुई गुटमध्ये यी तीनजनाको समर्थन जता हुन्छ सोही गुटले बाजी मार्ने आकलन गरिएको छ ।
तर, उनीहरूले भित्री रूपमा खगराज गुटलाई सघाएको बताइएको छ । हालको अवस्था हेर्दा कसको पक्ष भारी छ भन्ने आकलन गर्न सक्ने अवस्था भने छैन । तर, दुवै गुटले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएका छन् ।
यी हुन् दुई गुटका पदाधिकारीका उम्मेदवार
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र उपसचिव महिला गरी पाँचजना पदाधिकारी निर्वाचित गर्नेछ । पाँच पदाधिकारीका लागि पृथ्वी सुब्बा गुटबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा, उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङ धनञ्जय दवाडी, उपसचिवमा कास्कीका दामबहादुर विक र उपसचिव महिलामा पर्वतकी मञ्जु अधिकारी रहेकी छिन् ।
यसैगरी, खगराज गुटबाट अध्यक्षमा लमजुङका मायानाथ अधिकारी, उपाध्यक्षमा नवलपुरका बाबुराम विश्वकर्मा, सचिवमा कास्कीका रश्मी आचार्य, उपसचिवमा म्याग्दीका सन्तोष रावल र उपसचिव महिलामा कास्कीनिवासी मीना गुरुङ रहेकी छिन् ।
यसैगरी उपसचिवमा स्याङ्जाका अर्जुन सुनामले मनोनयन दर्ता गरेका छन् । १५ गतेबाट सुरु भएको अधिवेशनमा १६ गतेबाट निर्वाचन प्रक्रिया सुरु गरी १७ गते मतदान गर्ने कार्यतालिका रहेको थियो ।