संसदमा ओलीले भने– राज्यमा कुशासन मौलायो

बुधबार, १७ असोज, २०८०
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले राज्यमा कुशासन मौलाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले हिंसालाई प्रश्रय दिएको, कुशासन र अराजकता मौलाएको, जनताप्रति कुनै दायित्वबोध नदेखिएको जिकिर गरेका हुन् । 

‘सरकार चरम अनुत्तरदायी, गैरजिम्मेवार, स्वेच्छाचारी, विकासविरोधी देखिएको छ,’ उनले भने, ‘सुशासन छँदैछैन । राष्ट्रिय स्वाभिमान र गौरवविरोधी, संविधान, राष्ट्र र जनहितविरोधी काममा यो सरकार व्यस्त छ ।’ अहिलेसम्म प्राप्त गरेका राजनीतिक उपलब्धि समाप्त पार्न, विकास निर्माणलाई अवरुद्ध गर्न, विदेश सम्बन्ध खलबल्याउन र सम्पूर्ण राजनीतिक प्रणालीलाई विशृंखलित बनाउन यो सरकार दत्तचित्त भएर लागेको ओलीको आरोप थियो । करिब दुई घन्टा बोलेका ओलीले विभिन्न घटना उल्लेख गर्दै सच्याउनका लागि गम्भीर ध्यानाकर्षण गराए । आफूले अकारण कुनै पनि कुरा आरोपित नगरेको र तथ्य प्रमाणसहित बोलेको दाबी पनि गरे । 

एसिड आक्रमणकारी छोडियो
विपक्षी दलका नेता ओलीले मुस्कान खातुनमाथि एसिड आक्रमण गर्ने अपराधीलाई सरकारले माफी दिएको सदनलाई जानकारी गराए । आफूले प्रधानमन्त्री हुँदा एसिड आक्रमणविरुद्ध अध्यादेशबाट कानुन ल्याएको र कडा कारबाहीको प्रबन्ध गरे पनि सरकारले खातुनमाथि एसिड छर्ने अपराधीलाई छोडेर हिंसालाई प्रश्रय दिएको ओलीले टिप्पणी गरे । ‘फागुन १ को उत्सवमा छोड्यो कि संविधान दिवस भन्ने पारेर छोड्यो ? तर, अदालतले १० वर्ष फैसला गरेको व्यक्तिलाई चार वर्ष बसेपछि सरकारले छोडिदियो । न्याय भनेको यही हो ?’ उनले सोधे ।  

सुन तस्करी ढाकछोप गरियो
ओलीले सरकारबाटै सुन तस्करीको ढाकछोप प्रयास भएको आरोप लगाए । भेपमा साढे नौ किलो र ६१ किलो सुन प्रकरणमा छानबिन आयोग बनाउन एक महिनासम्म लडाइँ लडेको उल्लेख गर्दै ओलीले सुशासनको अभियानमा बाधा भयो भनेर सरकारले गफ छाट्दै हिँडेको टिप्पणी गरे । ‘सुन विमानस्थलमा किन पक्राउ परेन, सिनामंगलमै किन समातियो, गन्तव्यसम्म पछ्याएर सबै कुरा समाउन किन सकिएन ? सुन बुझ्नेलाई हाजिरीमा छाडेर मान्छे भगाऊ, सामान लुकाऊ, छिटो गर जाऊ भनेर पठाइयो, नत्र किन पठाएको ?’ ओलीले सोधे । शैक्षिक प्रमाणपत्रमा शंका लागेर सांसद सुनील शर्मालाई पक्राउ गर्ने, तर सुन तस्करी गरेका मान्छेलाई पुर्याउनेबित्तिकै छोडिएको भन्दै ओलीले प्रश्न गरे, ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु, सुशासनको अभियान भनेको यही हो ?’

राजनीतिको अपराधीकरण भयो
अध्यक्ष ओलीले अहिले राजनीतिलाई अपराधीकरण गर्न खोजिएको टिप्पणी गरे । अदालतको आदेशविपरीत लैनचौरको स्काउटको जग्गा गठबन्धनको नाममा बलजफ्ती कब्जा गरिएको, दिनदहाडै मान्छे मार्नेलाई छोडिएको उनले उल्लेख गरे । ‘दिनदहाडै बजारमा लेखेटेर खुँडाले काटीकाटी मारेको मान्छेलाई अदालतले २० वर्ष कैद गरेको छ, तर सरकारले तीन–चार वर्षपछि छोडिदिएको छ । पीडित परिवार आतंकित छ, नेपालगन्ज आतंकित छ । यस्ता मान्छे छानीछानी किन पुरस्कृत गरिन्छ ?’ अध्यक्ष ओलीले सरकारमा बसेर पुराना फाइल खोल्छु भनेर पनि तर्साउने काम गरिएको जिकिर गरे ।  

संविधानमाथि शृंखलाबद्ध हमला 
ओलीले गठबन्धन सरकारले संविधानमाथि शृंखलाबद्ध हमला गरी संवैधानिक संकट निम्त्याउन लागेको आरोप लगाए । सरकार असहिष्णु भई असंवैधानिक बाटोबाट हिँडेर संविधानप्रति अनास्था फैलाउने कार्यमा सक्रिय रहेको ओलीले जिकिर गरे । 

प्रदेशको संख्या, नाम, जातीय राज्यको अवधारणातिर फर्काउँछु भनेर भोट माग्नेजस्ता क्रियाकलापले स्वयं प्रधानमन्त्रीबाटै संवैधानिक प्रावधानलाई चुनौती दिने काम बारम्बार भइरहेको आरोप लगाउँदै ओलीले यसले संविधान, राजनीतिक दल, प्रणालीप्रति वितृष्णा फैलाउने काम गरेको जिकिर गरे । कोशी प्रदेशको सरकार गठनका क्रममा प्रदेश सभामा देखिएका संविधानविरुद्धका ज्यादती, त्यसका लागि प्रधानमन्त्री र गठबन्धनले नेपथ्यबाट दिएका निर्देशन हेर्दा यो गठबन्धन सरकारले आफ्नो स्वार्थका लागि संविधानलाई प्यारालाइज गर्न खोजेको उनको आरोप छ । 

गठबन्धन सरकारले संसद्लाई पूर्णरूपमा उपेक्षा गरेको ओलीले आरोप लगाए । प्रधानमन्त्री विदेश जाँदा १७ दिनसम्म संसद् अवरुद्ध भएकोमा ओलीले आपत्ति जनाए । सरकारले संसद्लाई सम्मान नगरेको उनको भनाइ थियो । 

शान्ति प्रक्रिया सत्ता प्राप्तिको भर्याङ
अध्यक्ष ओलीले शान्ति प्रक्रियालाई सत्ता प्राप्तिको भर्याङ बनाइएको आरोप लगाए । आफू प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियाका बाँकी टुंग्याउन खोजे पनि अहिलेका प्रधानमन्त्री (त्यतिवेला नेकपा अध्यक्ष) प्रचण्डको सहयोग पाउन नसकेको दाबी गरे । ‘त्यतिवेला मैले, द्वन्द्वका दुई पक्ष तपाईं र शेरबहादुरजी मिलेर टुंग्याउने प्रस्ताव ल्याउनुस्, म न्युट्रल व्यक्ति छु, पन्जा पत्र गरिदिन्छु, पुगेन भने पैतालाका डाम पनि राख्छु, यसलाई टुंग्याउन भनेर आग्रह गरेँ,’ ओलीले भने, ‘तर शान्ति प्रक्रिया टुंग्याउने श्रेय केपी ओलीलाई किन दिने भन्ने तपाईंहरूको धारणाले आजसम्म लट्किएको छ ।’ 

प्रधानमन्त्री प्रचण्डले यसलाई सत्ता प्राप्ति र जस लिने ताजको भर्याङ बनाएको ओलीको आरोप छ । ओलीले प्रधानमन्त्री प्रचण्ड युद्धका घाउ सदाका लागि निको पार्नेभन्दा पनि परिस्थिति भड्काउने दाउमा रहेको, शान्ति प्रक्रिया टुंग्याउनेभन्दा युद्ध प्रक्रियाको सुरुवात गर्नतिर लागेको पनि आरोप लगाए । द्वन्द्वपीडितको घाउमा नुनचुक छर्किएर फेरि नयाँ द्वन्द्वको चक्र निर्माण गर्न खोजिएको ओलीको आरोप छ । उनले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय उत्सवका रूपमा घोषणा गरेर बिदा दिने निर्णय मान्य नभएको बताए ।

See More On

सुझावित समाचार