१९औँ एसियाड : क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित

मंगलबार, १६ असोज, २०८०
डिजिटल संस्करण

भारतसँग पराजित भएसँगै नेपाल एसियाडको पुरुष क्रिकेटबाट बाहिरियाे

१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत क्रिकेटको पहिलो क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । पहिलो ब्याटिङ गरी भारतले २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रनको योगफल बनाएको थियो । नेपालले दुई सय तीन रनको चुनौतीपूर्ण लक्ष्य पायो । युनिभर्सिटी मैदानमा भारतले टस जितेर ब्याटिङ निर्णय लिएको थियो ।

प्रत्युत्तरमा नेपालले २० ओभरमा नौ विकेटको नोक्सानीमा एक सय ७९ रन जोडेको थियो । हारसँगै नेपाल एसियाडको पुरुष क्रिकेटबाट बाहिरिएको छ । भारतले सेमिफाइनल स्थान सुरक्षित गरेको छ । 

नेपालको ब्याटिङमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रनको योगदान दिएका थिए । उनले १५ बलमा चार छक्का प्रहार गरेका थिए । यसैगरी कुशल मल्ल र सन्दीप जोराले समान २९ रन बटुले । कुशलले २२ बलमा समान दुई चौका र छक्का हिर्काए । सन्दीप जोराले १२ बलमा तीन छक्का र एक चौका प्रहार गरे । करण केसीले १३ बलमा दुई छक्का र एक चौकाको सहयोगमा १८ रन बनाए । भारतले नेपाललाई १२ अतिरिक्त रन दिएको थियो । 

नेपाल र भारतबीच पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० खेल भएको हो । गत महिना नेपाल पाकिस्तान र श्रीलंकामा संयुक्त रूपमा आयोजना भएको एसिया कपमा भारतविरुद्ध पहिलोपटक  एकदिवसीय खेलमा भिडेको थियो । जसमा भारत १० विकेटले विजयी भएको थियो । अन्तर्राष्ट्रिय टी–२० को पहिलो भेटमा भारतले नेपाललाई हराउन मिहिनेत गर्नुपरेको थियो । सन् २००७ मा दक्षिण अफ्रिकामा भएको आइसिसी टी–२० विश्वकपको भारत विजेता हो । नेपालले सन् २०१४ मा पहिलो अन्तर्राष्ट्रिय टी–२० खेल खेलेको थियो । 

यशस्वीको शतकीय इनिङ्स
भारतका लागि भारतीय बायाँहाते युवा ब्याट्सम्यान यशस्वी जयसवालले नेपालविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका थिए । उनले ४८ बलमा आठ चौका र सात छक्का प्रहार गरेका थिए । सोमपाल कामीको १६.५ ओभरमा एक रन बटुल्दै उनले शतक पूरा गरेका थिए । 

१९.४ ओभरमा उनले छक्का प्रहार गरेको सम्झी शतकको सेलेब्रेसन गरेका थिए । अम्पायरले चौकाको संकेत गरेपछि जयसवालले ९९ रनमै रोकिए र अर्कोपटक उनले शतक पूरा गरे । उनी भारतीय टोलीका लागि कम उमेरमा अन्तर्राष्ट्रिय टी–२० खेलमा शतक प्रहार गर्ने खेलाडी बनेका छन् । जयसवालले २१ वर्ष दुई सय ७९ दिनमा शतक पूरा गरेका हुन् । 

भारतका लागि शुभमन गिलले गत फेब्रुअरीमा न्युजिल्यान्डविरुद्ध २३ वर्ष एक सय ४६ दिनमा एक सय २६ रनको शतकीय इनिङ्स खेलेका थिए । अन्तर्राष्ट्रिय टी–२० मा फ्रान्सका गुस्तभ म्याकेओनले १८ वर्ष दुई सय ८० दिनमा स्विट्जरल्यान्डविरुद्ध शतक हानेका थिए । नेपालका  कुशल मल्लले एसियाडअन्तर्गत समूह चरणमा मंगोलियाविरुद्ध १९ वर्ष दुई सय ६ दिनमा शतक हानेका थिए । 

भारतका लागि रिंकु सिंह र शिभव डुबेले पाँचौँ विकेटका लागि २२ बलमा विस्फोटक ५२ रनको साझेदारी गरेका थिए । गत सिजनको इन्डियन प्रिमियर लिगमा चम्केका रिंकुले १५ बलमा ३७ रनको इनिङ्स खेले । कोलकाता नाइट राइडर्सका विस्फोटक ब्याट्सम्यानका रूपमा चनिने रिंकुले दुई चौका र चार छक्का प्रहार गरे । शिभमले १९ बलमा दुई चौका र एक छक्का ठोके । 

नेपालका बलर खर्चिला
बलिङमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार ओभरमा ३१ रन खर्चेर दुई विकेट हात पारे । सोमपाल कामीले चार ओभरमा ३८ रन दिँदै एक विकेट लिए । यसैगरी सन्दीप लामिछानेले तीन ओभरमा एक विकेट लिन २८ रन खर्चेका थिए । करण केसी, अभिनाश बोहाेरा र रोहित पौडेल विकेटविहीन रहे । दीपेन्द्रले भारतीय कप्तान ऋतुराज गायकवाडको विकेट लिए । उनी २३ बलमा चार चौकासहित २५ रनमा आउट भएका थिए । पहिलो विकेटका लागि जयसवाल र गायकवाडले ९.५ ओभरमा एक सय तीन रनको शतकीय साझेदारी गरेका थिए ।

सुझावित समाचार