सुन तस्कारी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच आज सकारात्मक छलफल भएको छ।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिने क्रममा सिनामंगलमा करिब ६१ किलो सुन बरामद भएको थियो।
आज हुने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने र बैठकअगावै आयोगको घोषणा गर्ने सहमतिको तयारी भएको बताइएको छ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको र आयोगको कार्यादेशमा आफूहरू सहमतिको नजिक पुगेको भेटमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए।
बर्तौलाका अनुसमर आज नै आयोग निर्माण हुने गरी कार्यादेश तयार गर्ने सहमति भएकाे छ। आजको संसद बैठकमा प्रधानमन्त्री प्रचणडले सम्बाेधन गर्ने र सदनपूर्व नै आयोग घोषणा गर्ने सहमति भएकाे हाे।
सत्तापक्ष र प्रतिपक्षबीच आयोग गठन गर्ने सहमति भए पनि सोको कार्यादेश र कार्यक्षेत्रबाट सहमति जुट्न बाँकी थियो। आयोग गठन नभए एमालेले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने चेतावनी दिएपछि सरकारले छलफल तीव्र बनाएको छ।