७५ दिनपछि बल्ल उड्यो निगमको ग्राउन्डेड जहाज

शनिबार, १३ असोज, २०८०
डिजिटल संस्करण

व्यवस्थापनले समयमै भाडाको इन्जिन नल्याउँदा गुम्यो ७९ करोड

इन्जिनमा समस्या देखिएर ग्राउन्डेड भएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)को न्यारोबडी जहाज साढे दुई महिनापछि बल्ल उडेको छ । इजरायलमा भाडाको इन्जिन जडान गरेर कलसाइन नम्बर ९एन–एकेएक्स जहाज शुक्रबार बिहान १० बजे काठमाडौंमा अवतरण गरेको निगमका प्रवक्ता रमेश पौडेलले बताए । 

इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई)मा भाडाको इन्जिन जडान गरेर इजरायलबाट बिहीबार राति उडेको जहाज दुबई हुँदै शुक्रबार बिहान काठमाडौंमा अवतरण गरेको हो । ‘एकेएक्सले शुक्रबारदेखि नै नियमित उडान थालेको छ,’ निगम प्रवक्ता पौडेलले भने, ‘दिउँसो २:१५ बजे जहाज यात्रु बोकेर थाइल्यान्डको बैंककतर्फ उडेको छ ।’ लामो समयदेखि जहाज ग्राउन्डेड हुँदा निगमको अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त बनेको थियो ।  

निगमले जहाजको इन्जिन मर्मत गर्न र भाडामा लिनका लागि आइएआईलाई एमआरओ नियुक्त गरेको छ । आइएआईले जहाजबाट बिग्रिएको इन्जिन झिकेर भाडाको इन्जिन फेर्नकै लागि १२ दिन लगाएको छ । इन्जिनको बोरोस्कोप गर्दा समस्या देखिएपछि १६ जुलाई (३१ असार) देखि एकेएक्स त्रिभुवन विमानस्थलमा ग्राउन्डेड थियो । जहाज थन्किएको ६४ दिनपछि बल्ल निगम व्यवस्थापनले एमआरओ छनोट गरी १७ सेप्टेम्बर (३१ भदौ)मा इन्जिन मर्मत र भाडाको इन्जिन फेरबदल गर्न जहाज इजरायल पठाएको थियो ।

निगमले पटक–पटक एउटै कम्पनीसँग इन्जिन भाडा तथा मर्मतका लागि सम्झौता गर्दै आएको छ । यसपटक आइएआई न्यारोबडी जहाजको इन्जिन लिजसहित मर्मत गर्न चार वर्षका लागि एमआरओ नियुक्त भएको छ । जहाज अढाई महिनासम्म ग्राउन्डेड हुँदा करिब ७९ करोड रुपैयाँ आम्दानी गुमेको छ । न्यारोबडी ग्राउन्डेड हुँदा निगमले दैनिक सरदर एक करोड पाँच लाख रुपैयाँ आम्दानी गुमाउँछ । यस्तै, निगमको अन्तर्राष्ट्रिय उडान पनि अस्तव्यस्त बन्यो । कतिपय सेड्युल फ्लाइट र कनेक्टिङ फ्लाइट छुट्दा निगमलाई थप आर्थिक भार थपिएको छ । न्यारोबडी जहाज ग्राउन्डेड हुँदा छोटो दूरीमा थोरै यात्रु बोक्न पनि वाइडबडी जहाज उडाउनुपरेको छ ।

इजरायलमै थन्कियो १२ दिन  
बिग्रिएको इन्जिन इजरायलमा झारेर आइएआईको भाडाको इन्जिन जडान गरी जहाज नियमित उडानमा फर्किने कार्यतालिका थियो । इजरायलमा इन्जिन फिट गरेर काठमाडौं फर्किन निगमले पाँच दिनको समय छुट्याएको थियो । तर, इन्जिन फिट गर्ने क्रममा हट एयर भल्ब राम्रोसँग टाइट नगर्दा थप समस्या निम्तिएपछि १२ दिनसम्म लागेको स्रोतको दाबी छ ।

निगम व्यवस्थापनले कमिसन लोभमा पटक–पटक एउटै कम्पनीलाई इन्जिन मर्मत तथा भाडामा लिन एआरओ नियुक्त गर्दै आएको छ । यसअघि ९एन–एकेडब्लु जहाजको इन्जिन मर्मत तथा भाडामा लिन पनि इजरायलकै आइएआई र एमटियूलाई छनोट गरिएको थियो । त्यतिवेला तीन महिनाका लागि भनेर ल्याइएको एमटियूको इन्जिन पाँच सय ४३ दिनसम्म राखिएको थियो । यस्तै, आइएआईले तीन महिनामा मर्मत गर्नुपर्ने इन्जिनलाई सात महिनासम्म झुलाएको थियो । 

इन्जिन मर्मतका लागि ३६ लाख अमेरिकी डलर लागत अनुमान गरिएकोमा आइएआईले ४२ लाख ५० हजार डलरको नक्कली बिल पठाएको स्रोत बताउँछ । पछि साढे दुई लाख डलर घटाएर बिल भर्पाई गरिएको थियो । अहिले पनि निगम व्यवस्थापनले अक्षम ठहर भइसकेको कम्पनी आइएआईलाई चार वर्षसम्म लिजसहित इन्जिन मर्मतका लागि एमआरओ नियुक्त गरेको छ भने आपसी समझदारीमा थप दुई वर्ष सहमति बढाउन सकिने उल्लेख छ । एउटै कम्पनीले इन्जिन मर्मत तथा भाडामा लगाउँदा स्वार्थ बाझिने हवाई क्षेत्रका विज्ञ बताउँछन् । 

जहाज मर्मतका लागि इजरायल जाँदा तीनजना एयरहोस्टेस दुबई तथा पाँचजना इन्जिनियर र चालक दलका सदस्यसहित नौजना इजरायल पुगेका छन् । जसको दैनिक भत्ता नै प्रतिव्यक्ति सरदर १४० अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ । इन्जिन फेरबदल गर्न ढिलाइ हुँदा १२ जना कर्मचारीलाई १२ दिनसम्म तारे होटेलमा राख्दा निगमलाई थप आर्थिक बोझ भएको छ । 

सुझावित समाचार