रुकुम पश्चिममा आयोडिन नुन प्रयोगकर्ताको संख्या बढ्दै

शुक्रबार, १२ असोज, २०८०
डिजिटल संस्करण

रुकुम पश्चिममा पछिल्लो समय आयोडिनयुक्त नुन प्रयोग गर्नेको  संख्या बढ्दै गएको छ । जिल्लाका ६ वटै स्थानीय तहमा आयोडिन नुनका प्रयोगकर्ताको संख्या बढ्दै गएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, डिपो कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्ष ०७९/८० मा ६ हजार क्विन्टल नुन बिक्री भएको थियो । हाल जिल्लाको मुसिकोट नगरपालिकाकोे सेरीगाउँ र चौरजहारी नगरपालिकाको चौरजहारी वितरण केन्द्रबाट नुनको बिक्री हुँदै आएको डिपो कार्यालयको प्रमुख पूर्णराज गौतमले जानकारी दिए । 

उनका अनुसार गत आवमा सेरीगाउँबाट चार हजार नौ सय ५१ र चौरजहारी वितरण केन्द्रबाट नौ सय २० क्विन्टल नुन बिक्री–वितरण भएको थियो । कार्यालयले माग गरेकोभन्दा एक हजार पाँच सय क्विन्टल नुन गत आवमा कम आएको जनाएको छ । 

चालू आवका लागि पनि जिल्लामा माग गरेभन्दा झन्डै आधा साढे चार हजार क्विन्टल मात्र नुन आएको छ । जिल्लामा एक वर्षमा झन्डै आठ हजार क्विन्टल आयोडिन नुन प्रयोग हुने भए पनि चार हजार पाँच सय क्विन्टल मात्र नुन उपलब्ध भएको कार्यालय प्रमख गौतमले जानकारी दिए । चालू आवका लागि डिपो कार्यालय सेरीगाउँलाई तीन हजार सात सय र चौरजहारी वितरण केन्द्रलाई आठ सय क्विन्टल आयोडिनयुक्त नुन उपलब्ध भएको उनले बताए । 

आव ०७९/८० को भन्दा चालू आवमा जिल्लामा नुनको कोटा घटेर आएको छ । कार्यालय प्रमुख गौतमले नुन कोटा बढाउन आग्रह गरे । सेरीगाउँबाट हरेक हप्ताको आइतबार र बिहीबार तथा चौरजहारी वितरण केन्द्रबाट हरेक महिनाको ५ र ६ गते नुन बिक्री हुँदै आएको छ । 

प्रतिकिलो नौ रुपैयाँका दरले आयोडिनयुक्त नुन बिक्री गर्दै आइरहेको कार्यालयले जनाएको छ । मुसिकोट नगरपालिका– ५ का बेचु खत्रीले आयोडिन नुन प्रयोग गर्ने गरेको बताए । 

सुझावित समाचार