काठमाडौं महानगरपालिका र अभियन्ता ईःका प्रतिनिधिबीच मंगलबार ६ घन्टासम्म चलेको वार्ता विनानिष्कर्ष टुंगिएको छ । ईःका प्रतिनिधिले चाडबाडलाई लक्षित गरेर तत्कालै फुटपाथमा व्यवसाय गर्न दिनका लागि ठाउँ तोक्न माग गरेपछि वार्ता निष्कर्षविहीन बनेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।
‘सुरुमा उहाँहरूले जो जहाँ बसेर व्यवसाय गरिरहनुभएको छ । उहाँहरूलाई त्यसरी नै बसेर व्यवसाय गर्न दिनुपर्ने भन्नुभयो । तर, पछि चाडबाडलाई लक्षित गरी व्यवसाय गर्न दिनका लागि ठाउँ पहिचान आजै गर्नुपर्ने भन्नुभयो । त्यसैले वार्ता निष्कर्षमा पुग्न सकेन,’ प्रवक्ता मानन्धरले भने ।
वार्तामा महानगरका तर्फबाट वडा १७ का वडाध्यक्ष नवीन मानन्धर, २२ का वडाध्यक्ष चिनिकाजी महर्जन, कानुन न्याय तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्य र मेयर बालेन साहको सचिवालयका कुमार बेनलगायत सहभागी थिए । त्यसैगरी, ईःका तर्फबाट गोविन्द नारायणलगायतको सहभागिता थियो ।
फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्नुपर्ने भन्दै अभियन्ता ईःले गत सातादेखि राष्ट्रिय सभागृहपरिसरमा उभिएर विरोध प्रदर्शन सुरु गरेका थिए । महानगरविरुद्ध ‘चमेली समूह’ अभियान सुरु गर्ने केही स्वतन्त्र युवाहरूले समेत परिसरमा उभिएर विरोध प्रदर्शन गरिरहेका छन् । ईःको विरोधलाई समर्थन जनाउँदै मंगलबार पनि फुटपाथ व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन् ।
गत साता मंगलबार दिउँसो १ बजेबाट ७७ घन्टे आन्दोलन थालेका ईःले आफ्नो आन्दोलन एक सय ९९ घन्टासम्म लम्ब्याउने घोषणा गरिसकेका छन् । पछिल्लो समय अभियन्ता ईःको विरोधलाई स्वतन्त्र युवा, नागरिक समाज, विभिन्न राजनीतिक दलका प्रतिनिधिले समर्थन जनाउँदै आएका छन् ।