जनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत

मंगलबार, ९ असोज, २०८०
डिजिटल संस्करण

जनकपुरधामका अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ। 

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा आजदेखि सुरु भएको अनुगमनका क्रममा जनकपुरधामस्थित रेल्वे स्टेसन क्षेत्रमा रहेका मासु पसलको अवस्थाबारे जानकारी लिइएको थियो। 

केन्द्रका प्रमुख डा. सञ्जीवकुमार ठाकुरले अनुगमनका क्रममा अधिकांश पसल दर्ताविना सञ्चालनमा रहेको पाइएको बताए। उनले मासु जाँचसम्बन्धी ऐन नियमअनुसार न्यूनतम मापदण्डसमेत पालना नगरेको र गुणस्तरहीन मासुसमेत भेटिएको बताए।  

‘धनुषाको मासु बजारका समस्याका विषयमा सञ्चारमाध्यममा समेत समाचार आएपछि अनुगमन गरेका हौँ,’ उनले भने, ‘जसमा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पनि पालना नगरेको पायौँ, केहीलाई नियन्त्रणमा लिएका छौँ भने केहीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छौँ।’ अनुगमनका क्रममा करिब ३० केजी दूषित मासु नष्ट गरिएको छ।

पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनुषामा कार्यरत डा. राकेशमोहन सिंहले नियन्त्रणमा लिइएका मासु परीक्षणका लागि नमुना प्रयोगशालामा पठाइएको बताए।  

घरेलु तथा साना उद्योग कार्यालय धनुषाका सूचना अधिकारी मनोजकुमार कर्णले अनुगमन गरिएका पसलमध्ये अधिकांश दर्ताविना सञ्चालन भइरहेको पाइएको बताए। 

उनले जिउँदो कुखुरा बेच्ने अनुमति लिए पनि मासु काटेर बेच्ने गरेको, मासु र अन्डा एकै ठाउँमा राखेर बिक्री गरिरहेको पाइएपछि दर्ता गरी मापदण्डअनुसार सञ्चालन गर्न निर्देशन दिए। पशुसेवा विज्ञ केन्द्र प्रमुख डा. ठाकुरले पहिलो चरणमा जनकपुर बजार क्षेत्रमा र त्यसपछि अन्य स्थानमा अनुगमन गरिने बताए। 

सुझावित समाचार