गायक तथा गीतकार हिरन थापाको ‘लाहुरे’ बोलको कौराह गीत सार्वजनिक भएको छ। नवलपरासीको गैँडाकोटमा जन्मिएका थापाले गण्डकी प्रदेशसहितका जिल्लामा प्रचलित कौराह गीत बजारमा ल्याएका हुन्।
हिरन थापा र संगीता सुनारको स्वर रहेकोे गीतमा थापाकै शब्द र निर्देशन रहेको छ। दिलसिंह सुस्लिङ मगरको संगीत रहेको गीतलाई गाउँले परिवेशमा छायांकन गरिएको छ।
गीतको म्युजिक भिडियोमा वीरेन्द्र थापामगर (लाहुरे), संगीता सुनार, सुमन थापा, रेजिना मगर, सजिना गुरुङ, निशा मगरलाई देख्न सकिन्छ। मनोज लामाले कोरियोग्राफी गरेको गीतलाई सुरज इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
थापाले यसअघि ‘हे कन्छी’ र ‘दसैँ आयो’ गीत बजारमा ल्याएका थिए। उनले लेखेका एक दर्जनभन्दा बढी गीत बजारमा आइसकेका छन्।