कर छली गरेको आशंकामा राजस्व अनुसन्धान कार्यालय इटहरीले सिराहाको मिर्चैया नगरपालिका– ५ संस्था चोकस्थित कल्याण ट्रेडर्समा छापा मारी गोदाम सिल गरेको छ।
टोलीले तयारी र थान कपडाको थोक तथा खुद्रा व्यापार गर्दै आएको ट्रेडर्सको दुईवटा गोदाममा बिहीबार सिल गरी खरिदखाता, बिक्रीखाता, करबिजक, स्टकसम्बन्धी विवरण नियन्त्रणमा लिएको बताइएको छ। टोलीका एक अधिकारीका अनुसार ट्रेडर्सले कर कार्यालयमा बुझाएको विवरण र विद्युतीय प्रणालीमा समावेश गरिएको विवरण भिडाएर अनुसन्धान थालिएको छ।
जिल्लाकै ठूलो मानिने तयारी र थान कपडाको थोक तथा खुद्रा बिक्रेता ट्रेडर्सका सञ्चालक मुरारी साह घरबाहिर रहेकाले बुधबार साँझ मिर्चैया आइपुगेको सशस्त्र प्रहरीसहितको अनुसन्धान टोलीले घर र गोदाम निगरानी गरेको थियो।
सञ्चालक साह बिहीबार फर्किएपछि टोलीले आवश्यक प्रक्रिया पूरा गरी गोदाम सिल र खाताहरू लिएर गएको थाहा पाएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। मिर्चैया प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले टोलीले आफूहरूलाई जानकारी नदिएकाले आधिकारिक रूपमा जानकारी नभएको बताए।