हुम्लामा बाढीले बगाउँदा एक बेपत्ता, लाखौँको धानबाली नष्ट

बिहिबार, ४ असोज, २०८०
डिजिटल संस्करण

हुम्लामा गएरातिको वर्षासँगै आएको बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन्। अदानचुली  गाउँपालिका– ३ को काठेसेरा खोलाले बगाउँदा एकजना बेपत्ता भएका हुन्। 

घरनजिकै काठेसेरा खोलाले बगाउँदा अदनचुली गाउँपालिका– ३ का ३५ वर्षीय रवि  भियाल बेपत्ता भएको  जिल्ला प्रहरी कार्यालयले हुम्लाले जनाएको छ।  

भियालको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए। अस्थायी प्रहरी चौकी तुम्च, श्रीनगर, गल्फागाड प्रहरी चौकी  घटनास्थलमा खटिएको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए। 

जोखिम परेका बस्तीका नागरिकलाई  सुरक्षित स्थानतर्फ राखिएको उनले बताए। जिल्लाका विभिन्न स्थानका बाढीले क्षतविक्षत बनाएको छ। सर्केगाड गाउँपालिका– ४ को नागड सिँचाइ कुलो खानेपानी लाइन नवनिर्मित बेलिब्रिज पुलसमेत बगाएको सर्केगाड गाउँपालका– ४ का रमेश फडेराले जानकारी दिए। 

धान रोपेको धानबाली ३० रोपनी जग्गासमेत बगाएको फडेराले बताए।  यस्तै, सर्केगाड गाउँपालिका– ३ खुगाड काठेपुल बगाएरको सर्केगाड गाउँपालिका– ३ शिव फडेराले बताए।

फडेराका अनुसार गुसाँलेखमा घट्ट काठेपुल बगाएको छ भने तीनवटा घर जोखिममा छन्। अदानचुली गाउँपालिकाको गल्फागाड, बस्ती बेलिब्रिज पुल जोखिममा छन्। ताजाकोट गाउँपालिकामा पनि बाढीले धानबालीमा क्षति पुर्‍याएको छ। 

सुझावित समाचार