झलनाथ भन्छन्- नेपालमा कम्युनिस्टहरूको एउटै पार्टी हुनुपर्छ

मंगलबार, २ असोज, २०८०
डिजिटल संस्करण
झलनाथ भन्छन्- नेपालमा कम्युनिस्टहरूको एउटै पार्टी हुनुपर्छ

फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थीहरूले अलग–अलग पार्टी चलाउनुको अर्थ नभएकाे बताएका छन्। 

एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा एमालेले मंगलबार आयोजना गरेको कार्यक्रममा खनालले एउटै बलियो कम्युनिस्ट पार्टी बनाउनुपर्ने बताएका हुन्।

‘धेरैजसो समाजवादी मुलुकमा एउटा मात्रै कम्युनिस्ट पार्टी छ भने नेपालजस्ता देशमा चाहिँ बहुपार्टी हुनुपर्छ भन्ने केही पनि छैन। तत्काल मिल्न नसके कमसेकम साझा कुरामा त मिलेर जान सकिन्छ,’ खनालले भने, ‘हिजो पनि राष्ट्रियताका सवालमा नक्सा जारी गर्ने सवालमा सबैले मिलेरै अगाडि बढेको हो।’ 

उनले समाजवादतिर अगाडि बढ्ने वामपन्थीहरू छिटो मिल्नुपर्नेमा जोड दिँदै मैत्रीपूर्ण सम्बन्ध विकास गर्दै एकताको दिशातिर अगाडि बढ्नुपर्ने बताए। 

‘आमूल परिवर्तन गर्दै समाजवादतिर जाने वामपन्थीहरूबीच मेलमिलाप छैन, मिल्नुपर्यो, नजिक आउनुपर्छ। मतभेद हुन्छन्, एकआपसमा पूर्व देखे पश्चिमसम्म भाग्नुपर्ने, छेउमै पर्न नहुने अवस्था होइन,’ खनालले भने, ‘द्वन्द्वले नै विकास हुन्छ। भिन्न मत भए पनि आपसी मेल, मैत्रीपूर्ण सम्बन्ध हुनुपर्छ, साझा आधार तयार गरेर बढ्नुपर्छ।’

खनालले संविधान निर्माणमा सहजीकरण र समन्वयको भूमिका खेलेर स्वर्गीय सुवास नेम्वाङले संविधान निर्माण गर्ने आधार बनाएको बताए। नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक राज्यका रूपमा संविधानले परिभाषित गरे पनि देशव्यापी रूपपा जनतालाई बुझाउन नसक्दा धरानमा जातीय र धार्मिक सेन्टिमेन्ट पोखिएको उनको भनाइ थियो। 

देशको राजनीति कता गइरहेको छ, नेताहरूले भन्न नसक्ने अवस्था देखिएको भन्दै उनले अहिलेको अवस्थालाई नेताहरूले राम्रोसँग नबुझ्ने हो भने जम्मै मिलेर लड्दा पनि बहुमत आउँछ कि आउँदैन भन्न नसकिने गरी राजनीतिक संकट बढ्दै गएको पनि स्मरण गराए।

सुझावित समाचार