स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले संसद्मा दर्ता भएको ‘विद्युत् विधेयक २०८०’ संशोधन गर्नुपर्ने भन्दै आफ्नो १२ बुँदे धारणा सार्वजनिक गरेको छ । इप्पानले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतिस्पर्धा गराएर विद्युत् आयोजना विकास गर्ने व्यवस्था राम्रो भए पनि सरकार र निजी क्षेत्रलाई छुट्टाछुट्टै व्यवस्था गर्न नहुने बताएको हो ।
विद्युत् वितरण तथा ग्राहक सेवाको अनुमतिपत्र जारी गर्ने र निजी क्षेत्रका लागि विद्युत् व्यापारको ढोका खोल्नेबाहेक अन्य बुँदाहरू ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका खुम्च्याउने गरी आएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । विद्युत् उत्पादनमा ७० प्रतिशत हिस्सा ओगटेको निजी क्षेत्रलाई निषेध गर्ने गरी ल्याइएको विद्युत् विधेयकले ऊर्जाबाट समृद्धि ल्याउने सरकारकै योजना पूरा नहुने उनले बताए ।
पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष कार्कीले निजी क्षेत्र प्रतिस्पर्धाबाट भाग्न नखोजेको स्पष्ट पारे । उनले भने, ‘राम्रा आयोजना सबै सरकारले नै बनाउने र सरकारले छाडेका आयोजना मात्रै निजी क्षेत्रमा प्रतिस्पर्धामा लैजाँदा नेपालको विद्युत् सस्तो हुनुको साटो उल्टो महँगो हुने र यसले औद्योगिकीकरणदेखि आर्थिक वृद्धिसम्म सबैतिर प्रभाव पार्छ ।’ सरकारले बनाएका आयोजना निजी क्षेत्रको भन्दा तीन गुणा महँगो भएको महालेखाले नै उल्लेख गरेको उनले बताए । उनले भने, ‘सरकार आफैँले विनाप्रतिस्पर्धा बनाउँदा त लागत तेब्बर महँगो हुन्छ, अर्कोतिर सरकारले छाडेका आयोजना निजी क्षेत्रले बनाउँदा विविध कारणले ती आयोजना स्वतः महँगिने अवस्था बन्छ ।’
इप्पान महासचिव बलराम खतिवडाले सबै क्षेत्रलाई समान रूपमा प्रतिस्पर्धा गर्ने व्यवस्था भएमा मात्र स्वदेशमा विद्युत्को मूल्यमा प्रतिस्पर्धा भई नेपालीले सहुलियतमा विद्युत् पाउने बताए । नेपालमा ऊर्जा उत्पादनमा निजी क्षेत्रले प्रवेश पाएको तीन दशकमा लगभग ७० प्रतिशत हिस्सा पु¥याउन सफल भएको इप्पानको भनाइ छ ।
यस्ता छन् इप्पानका माग
- विद्युत् ऐनअनुसार जारी गरिएका सम्पूर्ण अनुमतिपत्रहरू विद्युत् ऐन, २०८० अनुसार नै लागू हुने व्यवस्था गर्नुपर्ने
- निजी क्षेत्र आफैँले जलविद्युत् आयोजनाको पहिचान तथा विकास गर्न सक्ने भूमिका थप गर्ने
- विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्रको पाँच वर्ष र विद्युत् उत्पादन अनुमतिपत्रको अवधि ५० वर्ष कायम गर्ने
- अनुमतिपत्रको अवधि जलस्रोतबाहेक अन्य प्रकृतिका सोलारलगायत विद्युत् आयोजनाको हकमा ३५ वर्ष व्यवस्था गर्ने
- सरकारी स्वामित्वका संस्था, निकाय वा संगठित संस्थाले विकास तथा सञ्चालन गर्ने विद्युत् आयोजनालाई विनाप्रतिस्पर्धा अनुमति प्रदान गरिने भन्ने व्यवस्था हटाउने
- यो ऐन प्रारम्भ हुनुभन्दा पहिले कानुनबमोजिम सर्वेक्षण अनुमतिको अवधिभित्र उत्पादन अनुमति प्राप्तिका लागि आवेदन गरेका आयोजनालाई साबिक ऐनअनुसार विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरिने व्यवस्था गर्ने
- स्वदेशमा विद्युत् खपत हुने आयोजनाको हकमा विद्युत् वितरण संस्थाले खरिददरमा प्रतिस्पर्धा गराई विद्युत् खरिद गर्नुपर्नेछ भन्ने व्यवस्था संशोधन गर्ने
- जरिवानाको व्यवस्था १० लाखदेखि २० लाखसम्म र कैद सजायको व्यवस्था पाँचदेखि १० वर्षसम्म कायम राख्ने