प्रधानमन्त्री प्रचण्ड ५ असोजमा चीन जाँदै, ८ असोजमा समकक्षी लीसँग द्विपक्षीय वार्ता

शुक्रबार, २९ भदौ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ असोजदेखि हुने चीन भ्रमणको कार्यतालिका सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले हाङ्जाउमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, बेइजिङमा प्रधानमन्त्री ली छियाङ र ल्हासामा तिब्बत स्वशासित क्षेत्रका उच्च अधिकारीसँग भेटवार्ता गर्ने जानकारी दिएका छन्। 

प्रतिनिधिसभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले चीनका प्रधानमन्त्री ली छियाङकाे निमन्त्रणामा न्युयोर्कबाट चीन जान लागेको जानकारी दिएका हुन्। कोरोना महामारीपछि र नेपालको पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक प्रधानमन्त्रीस्तरबाट चीनको भ्रमण हुन लागेको हो।

छोटो समयको अन्तरका कारण न्युयोर्कबाट चीन जानुपर्ने भएको प्रस्टीकरण उनले दिएका छन्।

‘संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् असोज ५ गते छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि हाङजाउ जाने कार्यक्रम तय भएको छ,’ प्रधानमन्त्री प्रचण्डले संसदमा भने,
‘संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्युयोर्कबाट सीधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको हो।’

प्रधानमन्त्री प्रचण्डलाई कूटनीतिक मामिला विज्ञहरूले न्युयोर्कबाट चीन जानुभन्दा काठमाडौं आएर जानुपर्ने सुझाव दिँदै आएका छन्। नेपालको प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री प्रचण्डको यो तेस्रो चीन भ्रमण हो।

‘हाङजाउमा नै चिनियाँ राष्ट्रपति महामहिम सी जिनपिङसँग भेटघाटको कार्यक्रम रहेको छ,’ प्रधानमन्त्रीले भने, ‘सोही दिन म १९औँ एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनेछु।’

प्रधानमन्त्री प्रचण्डले ८ असोजमा बेइजिङमा समकक्षी ली छियाङसँग भेटघाट तथा द्विपक्षीय वार्ता गर्ने तय भएको छ। चिनियाँ राष्ट्रपति सीले नेपालमा गणतन्त्र स्थापनापछि पहिलोपटक नेपालका प्रधानमन्त्रीलाई बेइजिङबाहिर भेट्न लागेका हुन्। प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच शिष्टाचार भेट हुनेछ।

सुझावित समाचार