कान्तिको इमर्जेन्सीमा बालिका मृत्युबारे छानबिन समितिको प्रतिवेदन : बिरामी हेर्दाहेर्दै आधा घन्टा गायब भएका थिए डाक्टर

शुक्रबार, २९ भदौ, २०८०
डिजिटल संस्करण
कान्तिको इमर्जेन्सीमा बालिका मृत्युबारे छानबिन समितिको प्रतिवेदन : बिरामी हेर्दाहेर्दै आधा घन्टा गायब भएका थिए डाक्टर

पाँच वर्षीया बालिका रेजिशा गोपाली

कान्ति बाल अस्पतालको इमर्जेन्सी वार्डमा पालो कुर्दाकुर्दै उपचार नपाएर मकवानपुरकी पाँच वर्षीया बालिका रेजिशा गोपालीको मृत्यु हुनुमा चिकित्सकको समेत गम्भीर लापरबाही देखिएको छ । बालिकाका आफन्तले पटक–पटक अनुनय गर्दा पनि सेक्युरिटी गार्डले पालोमा राखेको, तर सोही समयमा चिकित्सक भने आधा घन्टा इमर्जेन्सी कक्षबाटै गायब भएको छानबिनबाट पुष्टि भएको हो ।

अस्पतालको लापरबाहीका कारण १८ भदौमा बालिकाको मृत्यु भएको खबर २१ भदौमा नयाँ पत्रिकाले प्रकाशित गरेपछि सोही दिन डा. प्रकाश जोशीको संयोजकत्वमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डम्बरु दाहाल सदस्य रहेको छानबिन समिति गठन भएको थियो । उक्त समितिले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई प्रतिवेदन बुझाएको छ । 

‘एक डाक्टर बिरामी हेर्दाहेर्दै बाहिर निस्किएर आधा घण्टा हराउनुभएको र बिरामी (रेजिशा)का आफन्त धेरैपटक भित्र–बाहिर गरेको देखियो,’ छानबिन समितिले पेस गरेको प्रतिवेदनमा उल्लेखित निष्कर्ष उद्धृत गर्दै मन्त्री बस्नेतले भने । 

बिरामीका आफन्त बच्चाको उपचार गरिदिन छटपटाएको देख्दादेख्दै चिकित्सक भने उपचार नै छाडेर गायब हुनु हदैसम्मको लापर्बाही भएकाले कारबाही गर्ने उनले बताए । ‘घटना हुँदा म इजिप्टमा थिएँ, खबर थाहा पाएपछि तत्काल फोन गरेर छाबिनका लागि निर्देशन दिएको थिएँ,’ मन्त्री बस्नेतले भने, ‘छानबिन प्रतिवेदन आइसकेको छ । एक चिकित्सक र एक सेक्युरिटी गार्डले लापर्बाही गरेको देखिएको छ । लापर्बाही गर्नेमाथि प्रतिवेदनका आधारमा कारबाही गर्छु ।’ 

उच्च ज्वरो र निरन्तर बान्ता भएर थलिएकी रेजिशालाई १८ भदौको साँझ आमा रिता गोपाली र हजुरबुबा कृष्णबहादुर गोपालीले कान्तिको इमर्जेन्सीमा पुर्‍याएका थिए । उनीहरूले तत्काल उपचारको व्यवस्था मिलाइदिन पटक–पटक गुहार गरे पनि त्यहाँ खटिएका कर्मचारीले पालोमा कुराएका थिए । दुई घण्टा पालो कुर्दा पनि उपचार नपाएपछि हजुरबुबा कृष्णबहादुरको काखमै रेजिशाको प्राण गएको थियो । 

लापरबाही गर्नेमाथि कारबाही गर्छु : मोहनबहादुर बस्नेत, स्वास्थ्यमन्त्री
घटना हुँदा म इजिप्टमा थिएँ, खबर थाहा पाएपछि तत्काल फोन गरेर छानबिनका लागि निर्देशन दिएको थिएँ । अहिले छानबिन प्रतिवेदन आइसकेको छ । एक चिकित्सक र एक सेक्युरिटी गार्डले लापरबाही गरेको देखिएको छ । एक डाक्टर बिरामी हेर्दाहेर्दै बाहिर निस्किएर आधा घन्टा हराउनुभएको र बिरामी (रेजिशा)का आफन्त धेरैपटक भित्र–बाहिर गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । बिरामीका आफन्त बच्चाको उपचार गरिदिन छटपटाएको देख्दादेख्दै चिकित्सक भने उपचार नै छाडेर गायब हुनु हदैसम्मको लापरबाही हो । त्यस्तो, लापरबाही गर्नेमाथि प्रतिवेदनका आधारमा कारबाही गर्छु । 

सुझावित समाचार