नजरबन्दमा रहेकी नेतृ सुकी खाना र उपचारबाट वञ्चित

बिहिबार, २८ भदौ, २०८०
डिजिटल संस्करण

म्यान्मारको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको उनको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एलडिसी)ले आरोप लगाएको छ। 

‘हामी विशेष चिन्तित छौँ किनकि उनले पर्याप्त चिकित्सा सेवा प्राप्त गरेकी छैनन्। सैनिक सरकारले उनको जीवनलाई जोखिममा पार्ने उद्देश्यले स्वस्थ खाना वा आवास पर्याप्त रूपमा उपलब्ध गराएको छैन। यदि उनलाई तलमाथि भएमा त्यसको जिम्मेवार सैनिक सरकार हुनेछ,’ एलडिसीले एक विज्ञप्ति निकालेर भनेको छ। 

हालैका दिनमा ७८ वर्षीय नोबेल पुरस्कार विजेता नेतृ दाँतको संक्रमणको कारण बेहोस हुने, बान्ता गर्नेलगायत समस्याबाट पीडित रहेको र खाना खान असमर्थ रहेको विज्ञप्तिमा उल्लेख छ। 

सन् २०२१ को फेब्रुअरीमा सैन्य विद्रोहपछि सत्ताच्यूत गरिएकी नेतृ सुकीलाई सोही समयदेखि हिरासतमा राखिएको छ। सैनिक शासनको विरोधसँगै म्यान्मार गृहयुद्धमा प्रवेश गरेपछि हजारौँले ज्यान गुमाएका छन्। 

म्यान्मारमा हिंसाका घटना निरन्तर बढिरहेका छन्। गत जुलाईमा उनलाई राजधानी नेपिट जेलबाट नजरबन्दमा सारिएको थियो, तर उनलाई कहाँ राखिएको छ भन्ने स्पष्ट छैन। 

यसअघि उनका कान्छा छोराले पनि सैनिक हिरासतमा रहेकी आफ्नी आमालाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप लगाएका थिए। दाँत र गिजाको गम्भीर समस्याका कारण आफ्नी आमा केही दिनदेखि अस्वस्थ भई खान नसक्ने अवस्थामा पुगेकाे उनका छोरा किम एरिसले बताए। 

नेतृ सुकी न्यून रक्तचापबाट पनि पीडित छन्। उनले आफ्नी बिरामी आमालाई स्वास्थ्य सेवा उपलब्ध गराउन सैन्य सरकारसमक्ष कारागारका अधिकारीहरूले गरेको अनुरोधलाई सैनिक नेतृत्वले अस्वीकार गरेको बताए।   

म्यान्मारका सबै राजनीतिक दलहरूको गठबन्धनले अन्तर्राष्ट्रिय समुदायलाई नेतृ सुकीजस्ता राजनीतिक बन्दीहरूलाई उचित उपचार सेवा उपलब्ध गराउन सैनिक शासकलाई दबाब दिन आग्रह गरेको छ। 

विश्वका धेरै नेताले  पनि उनको निःसर्त रिहाइको माग गरेका छन्। साथै, उनीहरूले पक्राउ गरिएका विपक्षीलगायत सबैलाई हिरासतमुक्त गर्न आह्वान गरेका छन्। 

सुझावित समाचार