नेम्वाङको अप्रत्याशित निधनले इलाम शोकमग्न

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

मंगलबार, २६ भदौ, २०८०
डिजिटल संस्करण

इलाम क्षेत्र नम्बर २ का संघीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले इलाम शोकमग्न भएको छ । उनी ०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेतासमेत थिए ।

राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सूत्रधार एवं इमानदार छवि बनाएका नेम्वाङ जिल्लावासीका लागि ‘राजनीतिक मियो’ थिए  । इलामबजारनजिकै सुन्तलाबारीमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर ०२९ सालमा कम्युनिस्ट राजनीतिमा होमिएका थिए । ०३३ मा राजद्रोह मुद्दामा उनी केही समय जेल परे  । ०४८ र ०५२ मा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए ।

०५६ को संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका थिए । उनी जनआन्दोलन ०६२/६३ सँगै पुनर्स्थापित संसद्का सभामुख भएका थिए । ०६४ र ०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । संविधानसभाबाट नेपालको संविधान जारी गर्न उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । उनी चारपटक सभामुख हुँदा सधैँ सर्वसम्मत नै बनेका थिए ।

नेम्वाङको अवसानले इलाम शोकमग्न

नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियन्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ । इलाम क्षेत्र नम्बर १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताए । बस्नेतले भने, ‘देश र जनताका लागि उहाँले पुर्याउनुभएको योगदान अतुलनीय हुनेछ ।’ 

गत आमनिर्वाचनमा नेम्वाङसँग थोरै मतान्तरले पराजित भएका नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले उनलाई इलामले सधैँ सम्झिरहने बताए । ‘पटक–पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवासदाइले इलामको चौतर्फी विकासमा ठूलो योगदान दिनुभएको छ,’ उनले भने, ‘इलामका बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा हुनुभयो ।’  

‘उहाँ पार्टीको मात्र नभएर सारा नेपालीको नेता हुनुहुन्थ्यो,’ नेकपा एकीकृत समाजवादी इलामका अध्यक्ष भक्त केसीले भने, ‘उहाँको अभाव नेपाली राजनीतिमा सधैँ खड्कनेछ ।’   राजनीतिमा खासै चासो नभएको बताउने इलामका विद्यार्थीसमेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन् । इलाम क्याम्पसमा अध्ययनरत विद्यार्थी रोशन सापकोटाले भने, ‘म धेरै राजनीति त जान्दिनँ, तर उहाँको व्यक्तित्वबाट प्रभावित थिएँ । एकाबिहानैको खबरले स्तब्ध भएँ ।’

नेकपा माओवादी केन्द्रका जिल्ला नेता रञ्जित श्रेष्ठले कम्युनिस्ट शक्तिहरूलाई एक बनाएर लैजानमा उनले चालेका कदम बिर्सन नसकिने बताए । ‘कम्युनिस्टहरू एक भएर आएमा मात्र यो देश समृद्ध बन्छ भन्नेमा उहाँ प्रस्ट हुनुहुन्थ्यो,’ उनले भने, ‘सुवास सरको निधनले इलामलाई मात्र होइन, देशको कम्युनिस्ट आन्दोलन नै कमजोर हुन सक्ने देख्छु ।’     

माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भने, ‘उहाँले देखाउनुभएको बाटोमा इलाम अघि बढ्नेछ । उहाँले पूरा गर्न नसकेका समृद्ध इलामको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ ।’    रासस

See More On

सुझावित समाचार