लोकतन्त्रविरोधीलाई तह लगाउन मोर्चा सक्षम छ : प्रधानमन्त्री

मंगलबार, २६ भदौ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा लोकतान्त्रिक व्यवस्था ल्याउन संघर्ष गरेका दलका नेताहरूलाई बदनाम गर्नेलाई कडा जवाफ दिन समाजवादी मोर्चा सक्षम रहेको बताएका छन् । सोमबार विराटनगरमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले समाजवादी मोर्चामा रहेका दल पानीको फोकाजस्तो नभएर परिवर्तनका लागि अथक् संघर्ष गरेका लोकतान्त्रिक शक्ति भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध संघर्ष छेडेको चर्चा गर्दै सुशासन कायम नगर्दासम्म सरकार नरोकिने जिकिर गरे । उनले वर्तमान गठबन्धन सरकार पूरै पाँच वर्ष टिक्नेसमेत बताए । उनले सरकार गठनयता उल्लेख्य काम गरेको दाबी पनि गरे । उनले कोशी प्रदेशको नामकरणपछिको समस्या समाधान गर्न समाजवादी मोर्चाले विशेष चासो दिइरहेको बताए । प्रचण्डले भने, ‘हामी कोशीमा नामकरणपछि उत्पन्न अस्थिर राजनीतिक अवस्था अन्त्य गर्न चिन्तित छौँ, यसैले यो समस्या अब चाँडै अन्त्य हुन्छ ।’ प्रचण्डले कोशीमा जातीय दंगा भड्काएर धमिलो पानीमा माछा मार्न खोजिएको भन्दै सरकारले त्यो अभीष्ट सफल हुन नदिने बताए । 

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा समाजवाद स्थापना गरेरै छाड्ने लक्ष्यसहित समाजवादी मोर्चा स्थापना भएको भन्दै कसैले चाहेकै भरमा मोर्चा भत्काउन नसक्ने दाबी गरे । उनले मोर्चामा आबद्ध प्रचण्ड नेतृत्वको सरकारले गरेको काम सकारात्मक रहेको भन्दै प्रशंसा गरे । नेता नेपालले देशमा संकट आएका वेला पटकपटक मोर्चाहरू बनेर सफल नेतृत्व दिएको स्मरण गर्दै अहिलेको समाजवादी मोर्चा पनि समाजवाद स्थापना गर्न सफल भएरै छाड्ने दाबी गरे ।

जसपा अध्यक्ष उपेन्द्र यादवले क्रान्तिका नायक प्रधानमन्त्री भएका वेला जनताको पक्षमा धेरै राम्रा काम भइरहेको भन्दै सरकारले त्यसलाई अझै बढाउँदै लानुपर्नेमा जोड दिए । नेकपा अध्यक्ष विप्लवले पार्टी एकताको आधार बनाउन समाजवादी मोर्चा बनाइएको भन्दै अब देश समाजवादतर्फ अगाडि बढ्ने बताए । 

सुझावित समाचार