पपुवा न्युगिनी, दुबई, मलेसियालगायत देशका चर्चित होटेलमा काम गरेर फर्किएका कालिकोटका केशव कडायतले ०७६ सालमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सिटिएच–पाक अतिथि केन्द्र खोले । उनले यहाँ कागुनो, कोदो, फापर, सिमी, जौ, मार्सी धानलगायतका स्थानीय उत्पादनबाट बनेका परिकार पाहुनालाई चखाउने गरेका छन् ।
सुर्खेतमा उनले आफ्नै बारीमा अर्गानिक तरकारी उत्पादन गर्छन् । ‘म विदेशमा सिकेको सीप नेपालमा, त्यो पनि आफ्नै प्रदेशमा उपयोग गरौँ भनेर आएको हुँ । सोचेजस्तो काम गर्न नसके पनि हार खाएको छैन,’ उनले भने, ‘विषादीरहित खाद्यान्न उत्पादनमा जोड, स्थानीय खाद्यबालीको प्रवद्र्धन गर्ने लक्ष्य राखेको छु ।’
सिटिएच–पाक अतिथि केन्द्रमा उनले ग्रामीण इलाकाका विद्यार्थीलाई पाककला तथा अतिथि सत्कार सीपसमेत सिकाइरहेका छन् । ‘यहाँबाट मैले केही विद्यार्थी उत्पादन गरेर ग्रामीण पर्यटन क्षेत्रमा खटाउन खोजेको छु । तर, भनेअनुसारको उत्पादन गर्न सकिएको छैन,’ उनले भने, ‘हाम्रो जस्तो पर्यटनको सम्भावना रहेको क्षेत्रमा राम्रो होटेलको हस्पिटालिटी आवश्यक
रहेको छ ।’
अर्गानिक उत्पादनबारे शिक्षित गर्न सके स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटन विकासमा समेत टेवा पुग्ने कडायतले बताए । ‘गाउँमा युवा छन्, कोहीसँग जग्गाजमिन छ, तर त्यसको सही सदुपयोग छैन,’ उनले भने, ‘युवालाई रोजगारी दिनेतर्फ स्थानीय सरकारको ध्यान छैन । यसैमा दुःख लाग्छ ।’ उनको अतिथि गृहमा आउनेको संख्या अहिले बढ्दो छ ।