आँखा पाक्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्न सक्छ । मानिसले आँखा चिलाएपछि त्यसमा हातले चलाउन सक्छन् । त्यसक्रममा हातमा चिप्रा पर्छ । त्यही हातले अर्को आँखामा छुँदा अर्को आँखा पनि संक्रमित हुन सक्छ । बिरामीले प्रयोग गर्ने रुमाल, कपडा, सिरानीको खोल, तन्ना अर्को व्यक्तिले प्रयोग गर्दा रोग सर्न सक्छ । त्यसैले यस रोगबाट बच्न सतर्कताका केही उपाय अवलम्बन गर्नुपर्छ ।
- आँखा चिलायो भन्दैमा रगड्नु हुँदैन । चिसो पानीमा सफा कपडा भिजाएर वा बरफलाई कपडाले बेरेर सेक्न सकिन्छ । दुईवटै आँखा संक्रमित छ भने फरक–फरक कपडा वा बरफ प्रयोग गर्नुपर्छ । आँखा सफा गर्दा डिस्पोजेबल टिस्यु पेपर प्रयोग गर्न सकिन्छ । सफा रुमालले पनि सफा गर्न सकिन्छ ।
- आँखामा रहेको चिप्रा सफा गर्नुअघि र गरिसकेपछि साबुनपानीले हात धुन बिर्सनुहुँदैन ।
- आँखा पाकेपछि सकभर बाहिर निस्कनुहुँदैन । बच्चालाई स्कुल पठाउनुभएन । कामकाजी व्यक्ति कार्यालय जानुभएन । आइसोलेसनमा बस्नु राम्रो हुन्छ । भिडभाडमा जानुहुँदैन । बाहिर निस्कनै परे कालो चस्मा लगाएर जानु राम्रो हुन्छ । यसो गर्दा अन्य व्यक्तिमा संक्रमण सर्ने जोखिम कम हुन्छ । आँखामा धुलो–धुवाँ पनि पर्न पाउँदैन । हेर्न पनि सजिलो हुन्छ ।
- शृंगारको सामग्री चलाउनुभएन । मेकअपमा केमिकल हुने भएकाले त्यसले आँखामा असर गर्न सक्छ ।
- आफूखुसी औषधि प्रयोग गर्नुभएन । चिकित्सकलाई देखाएर मात्रै औषधि प्रयोग गर्नुपर्छ ।
- यस समय बिरामीले खानपानमा पनि ध्यान दिनुपर्छ । भिटामिनयुक्त खानेकुरा, जस्तै– हरियो सागसब्जी, दूध, फलफूलको प्रयोग यस समय अलि बढी गर्नु राम्रो हुन्छ । पानी पर्याप्त पिउनुपर्छ ।
- कुनै समस्या देखिएमा विशेषज्ञ चिकित्सकसँग परामर्श गर्नुपर्छ ।