‘द रेड सुटकेस’ले भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रिमियरअगावै अवार्ड जितेको छ। चलचित्रले ‘फन्डापजियोनी फाई पर्सनो लाभारो एम्बिएन्टेज’मा अनरेबल मेन्सन अवार्ड पाएको हो।
चलचित्र समीक्षक, सांस्कृतिक संस्था र फिल्मकर्मीको संस्थाले स्वतन्त्र रूपमा प्रदान गर्ने यो अवार्ड ‘द रेड सुटकेस’लाई यसमा गरिएको मिहिनेतका लागि प्रदान गरिएको संस्थाले जनाएको छ।
‘चलचित्रले यथार्थ र कल्पनाको बीचमा रहेर काव्यिक कथावाचन गरेको छ। छायांकनको उच्चतामार्फत फिल्मले नेपाली समाजको बसाइँसराइको दुर्दान्त कथा प्रस्तुत गर्छ। सांस्कृतिक पृष्ठभूमिमा रहेर चलचित्रले विश्वजनीन कथा पनि प्रस्तुत गरेको छ,’ जुरी साइटेसनमा भनिएको छ।
निर्देशक फिडेल देवकोटाले अवार्डले जिम्मेवारी थपिएको प्रतिक्रिया दिएका छन्। उनले यसलाई फिल्मको सफलताको सूचकको रूपमा अर्थ्याए।
‘मुख्य प्रतिस्पर्धाको निर्णय आउन बाँकी नै छ। तर, साइड इभेन्टमा पनि फिल्मले अवार्ड जित्नुको मतलब हामी कथावाचनमा धेर–थोर सफल भएको संकेत हो। हामी खुसी छौँ,’ फिडेलले संक्षिप्त प्रतिक्रिया दिँदै भने।
विगत चार वर्षदेखि बाँडिँदै आएको यो विधाको उत्कृष्ट फिल्मको पुरस्कार भने रेयुसुके हामागुचीको फिल्म ‘इभिल डजनट एक्जिस्ट’ले जितेको थियो। हामागुचीले गत साल ‘ड्राइभ माई कार’मार्फत अस्करको इन्टरनेसनल फिचर फिल्म विधातर्फको अवार्ड जितेका थिए। यो साल पनि उनको फिल्म भेनिसको मुख्य प्रतिस्पर्धामा छ।
फिडेलले अस्कर अवार्ड विजेता हामागुचीसँग हार्दा खुसी नै लागेको बताए। निर्माता रामकृष्ण पोखरेलले प्रिमियरको पूर्वसन्ध्यामा अवार्ड पाउनुलाई शुभसंकेतको रूपमा अर्थ्याए। ‘कम्तीमा हामी खाली हात नेपाल फर्कनुपरेन । तर हामी थप आशावादी छौँ,’ उनले भने।
फिल्मको शुक्रबार नै वर्ल्ड प्रिमियर हुन गइरहेको छ । प्रिमियरका लागि निर्माताहरू रामकृष्ण पोखरेल, शोभा थापा, निर्देशक फिडेल देवकोटा, छायांकार सुशन प्रजापति र कलाकारहरू सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ भेनिस पुगिसकेका छन्।
शनिबार फिल्मको अवार्ड वितरण कार्यक्रम रहेको छ।