नेपाल–भारत क्रसबोर्डर क्युआर भुक्तानी सेवा सुरु हुँदै

शुक्रबार, २२ भदौ, २०८०
डिजिटल संस्करण

नेपाल र भारतबीच क्रसबोर्डर क्युआर कोडबाट नै भुक्तानी गर्न सकिने भएको छ । बिहीबार मुम्बईमा सञ्चालन भएको ग्लोबल फिन्टेक फेस्ट २०२३ मा नेपाल र भारतका भुक्तानी सञ्चालकबीच क्रसबोर्डर क्युआर कोड भुक्तानी सेवा सम्झौता भएको हो । 

नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतीय नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाको अन्तर्राष्ट्रिय शाखा एनआइपिएलबीच क्रसबोर्डर क्युआर भुक्तानीसम्बन्धीमा समझदारी भएको फोनपेका प्रमुख कार्यकारी अधिकृत पारस कुँवरले बताए । उनका अनुसार दुवै कम्पनीबीच क्रसबोर्डर क्युआर कोड भुक्तानी सेवाका विषयमा यसअघि नै सम्झौता भइसकेको हो । दुवै पक्षले प्राविधिक एकीकरणको कार्य सम्पन्न गरेपछि बिहीबार अन्तिम सम्झौता भएको उनले बताए । 

अब फोनपेले बैंकहरूलाई अन्तर्राष्ट्रिय क्युआर कोड भुक्तानीका लागि सम्झौता गर्न आह्वान गर्नेछ । कम्पनीसँग सम्झौता हुने बैंकको क्युआर कोड सेवा सरु हुँदै जाने उनले बताए । पूर्ण रूपमा सञ्चालन हुन दुई महिना लाग्ने उनको अनुमान छ । ‘डिजिटल नेटवर्क हाइवेको काम हामीले गरिसकेका छौँ । अब बैंकहरू जोडिँदै गएपछि सेवा पनि सुरु हुँदै जान्छ,’ उनले भने, ‘तर, कुनै बैंक भोलि नै हामीसँग अन्तर्राष्ट्रिय भुक्तानीका लागि जोडिन आउनुहुन्छ भने उहाँहरूको सेवा सुरु भइहाल्छ ।’  

फोनपे र एनआइपिएलबीचको सम्झौताले दुवै मुलुकबीचको कारोबारमा वृद्धि हुने फोनपेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले बताए । उनले ‘यस पहलले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ । समृद्धि र विकासलाई बढावा दिनेछ ।’

भुक्तानी लिमिटमा अन्योल
फोनपे र एनआइपिएलबीच क्रस बोर्डर क्युआर कोड भुक्तानीका विषयमा सम्झौता भएपछि भुक्तानी लिमिटको विषय टुंगो लागेको छैन । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय क्युआर कोड भुक्तानीको व्यवस्था गरे पनि लिमिटको विषयमा कुनै व्यवस्था गरेको छैन । यद्यपि, राष्ट्र बैकले यस विषयमा छुट्टै व्यवस्था गर्ने तयारी गरेको जनाएको छ । 

केन्द्रीय बैंकको व्यवस्थाअनुसार बैँक तथा वित्तीय संस्थाहरूको प्रिपेड कार्डबाट प्रतिकारोबार १० हजार भुक्तानी गर्न सकिन्छ । प्रतिदिन २० हजार र प्रतिमहिना दुई लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ । डेबिट कार्डबाट भने २५ हजार रुपैयाँ प्रतिकारोबार भुक्तानी गर्न सकिन्छ । प्रतिएक लाख रुपैयाँ र प्रतिमहिना चार लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिन्छ । क्रेडिट कार्डमार्फत भने स्वीकृति सीमाको १० प्रतिशतसम्म भुक्तानी गर्न सकिने व्यवस्था छ । त्यस्तै, मोबाइल एप्लिकेसन क्युआर कोडमार्फत प्रतिदिन तीन लाख रुपैयाँ भुक्तानी गर्न सकिन्छ भने इन्टरनेट बैंकिङमार्फत प्रतिदिन २० लाखसम्म भुक्तानी गर्न सकिने व्यवस्था छ । 

बैंक खाताबाट वालेटमा र वालेटबाट अन्य बैंक खातामा प्रतिदिन दुई लाख र प्रतिमहिना १० लाख रुपैयाँ गर्न सकिन्छ । साथै, एक वालेटबाट अर्कौ वालेटमा प्रतिदिन ५० हजार र प्रतिमहिना पाँच लाखसम्म भुक्तानी गर्न सकिन्छ । अन्तर्राष्ट्रिय भुक्तानीको सीमा नतोकेसम्म केन्द्रीय बैंकले आन्तरिक भुक्तानीमा तोकेको सीमा नै लागू हुन सक्ने फोनपेले जनाएको छ । 

क्रस बोर्डर क्युआर कोड भुक्तानी सेवाअनुसार फोनपे एपमार्फत नेपालीले भारतमा मोबाइलबाट सजिलै भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी, भारतीय नागरिकले पनि मोबाइल फोनको प्रयोगबाट नै नेपालमा भुक्तानी गर्न सक्नेछन् । यसले नेपाल आउने पर्यटकदेखि व्यापारीलाई पनि सहज हुनेछ ।  

सुझावित समाचार