कार्यालयभित्रै यौनजन्य अमर्यादित गतिविधि गर्ने इलामको माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले पाएको ‘इन्ट्रिग्रिटी आइकन’को सम्मान रद्द भएको छ।
यसअघि इलामकै चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा उच्च कार्यसम्पादन गरेको भन्दै अकाउन्टबिलिटी ल्याब नामक संस्थाले उनलाई इन्टेग्रिटी आइकन नेपाल २०१९ बाट सम्मानित गरेको थियो।
कार्यालयभित्रै सहकर्मी महिला कर्मचारीसँग अमर्यादित गतिविधि गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि संस्थाको बिहीबार बसेको बैठकले अवार्ड रद्द गर्ने निर्णय गरेको हो।
राईको गतिविधिसँग इन्टेग्रिटी आइकन नेपालको नाम पनि जोडिएर आइरहेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको संस्थाले जनाएको छ।
‘काजीमान राई चुलाचुली गाउँपालिका, इलामको प्रमुख प्रशासकीय अधिकृत हुँदा इन्ट्रिग्रिटी आइकन नेपाल २०१९ बाट सम्मानित हुनुभएको थियो,’ संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ तत्कालीन समयावधिमा प्राप्त जानकारी सूचना र इन्ट्रिग्रिटी आइकन नेपालले तय गरेको मापदण्डको आधारमा उक्त अवार्ड प्रदान गरिएको थियो। त्यसपश्चात् पनि उहाँले नेपालको प्रशासनिक क्षेत्रमा आफ्नो असल आचरण र कुशल कार्यशैलीले अरूलाई पनि प्रेरित गर्नुहुनेछ भन्ने विश्वास थियो। तर, समाचारहरूमा देखिएको अमर्यादित कार्यले हामीलाई स्तब्ध बनाएको छ।’
इन्ट्रिग्रिटी आइकन नेपालले भ्रष्ट आचरण, अमर्यादित व्यवहार र गैरजिम्मेवारपूर्ण कार्यको कदापी समर्थन नगर्ने पनि संस्थाले प्रस्टयाएको छ। राई संलग्न गलत आचरण देखिने दृश्य सामग्री सार्वजनिक भएपछि संस्थाले घटनाबारे सत्यतथ्य खुलाई २४ घण्टाभित्र आफ्नो रायसहितको जवाफ पठाउन पत्र पठाएको थियो। पत्रको जवाफमा उनले गल्ती स्वीकार गरेकाे जनाइएको छ।
‘इन्ट्रिग्रिटी आइकन नेपाल निर्णायक समिति सदस्यहरूको सुझाव र इन्ट्रिग्रिटी आइकन नेपालको निर्देशिकालाई आधार मानेर आयोजक संस्थाको निर्णयबमोजिम निज काजीमान राईलाई दिइएको इन्ट्रिग्रिटी आइकन नेपाल २०१९ अवार्ड रद्द गरिएको व्यहोरा सार्वजनिक रूपमा जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘काजीमान राईले कार्यक्षेत्रमा गर्नुभएको अमर्यादित व्यवहारप्रति इन्ट्रिग्रिटी आइकन नेपाल खेद प्रकट गर्दछ।’