भेराइटी म्यागजिनमार्फत ‘द रेड सुटकेस’को फर्स्ट लुक सार्वजनिक

बिहिबार, २१ भदौ, २०८०
डिजिटल संस्करण

भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलमा शुक्रबार प्रिमियर हुन गइरहेको फिल्म ‘द रेड सुटकेस’को फर्स्ट लुक सार्वजनिक गरिएको छ।

फिल्मको दुई मिनेट लामो भिडियो क्लिपसहित फर्स्ट लुक सार्वजनिक गरिएको हो। भिडियोमा देश फर्कने र देश छाड्नेको नियतिलाई सुन्दर फ्रेममा कैद गरिएको छ।

फिडेल देवकोटाको डेब्यु निर्देशनमा तयार भएको फिल्मले हलिउडको चर्चित पत्रिका भेराइटीमार्फत फर्स्ट लुक सार्वजनिक गरेको हो। फिल्मका निर्देशक देवकोटा र निर्माता रामकृष्ण पोखरेलको भनाइ उद्धृत गर्दै भेराइटीले फिल्ममा नेपाल र श्रीलंकाबीच दुर्लभ सहकार्य रहेको शीर्षकमा समाचार लेख्दै फिल्मको क्लिप सार्वजनिक गरेको छ।

फिडेल देवकोटाकै लेखनसमेत रहेको फिल्मले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्रकमा सामान लिएर सुदूर गाउँमा जाने चालकको रहस्यमय कथा प्रस्तुत गर्छ।

‘द रेड सुटेकस’ले भेनिसको होराजेन्टे विधामा प्रतिस्पर्धा गरिरहेको छ। शुक्रबार यसको वर्ल्ड प्रिमियर हुँदै छ। वर्ल्ड प्रिमियरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, विपिन कार्की र सृष्टि श्रेष्ठ सहभागी हुँदै छन्।

फिल्मलाई आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेल र शोभा थापाले निर्माण गरेका हुन्। फिल्मको सहनिर्माणमा श्रीलंकाका निर्माता विमुक्ति जयसुन्दरा रहेका छन्।

सुझावित समाचार